शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

डढेलो र फोहोर हावाले वायु प्रदूषण झन् कडा बन्दै

काठमाडौँ। डढेलो र अन्य फोहोर हावाले वायुमण्डलमा पकड जमाउँदा वायु प्रदूषण झन् कडा बन्दै गएको छ । केही दिनअघिसम्म बिहानको समयमा केहीबेर खुला आकाशमा चहकिलो घाम देखिन्थ्यो । तर केही दिन यता बिहानदेखि साँझसम्मै आकाश धुम्म बनेर सूर्यको किरण धर्तीमा आउन सकेको छैन ।

वायु प्रदूषण उच्च रहेकाले काठमाडौँ लगायत देशका मुख्य सहरको आकाश खुलेको छैन । वायु प्रदूषणको असर हिमाली जिल्लामा समेत पुगेको छ । जुम्ला, रारा क्षेत्रसम्म वायु प्रदूषणले असरले आकाश ढाक्न पुगेको छ ।

यो अवस्थामा दुई तीन दिनमा सुधार आउने अपेक्षा गरिए पनि अझै लम्बिन सक्ने वातावरण विभागले जनाएको छ । विभागको प्रदूषण सूचकले काठमाडौँ लगायतका सहरमा वायु प्रदूषण कडा बन्दै गएको देखाएको छ ।

काठमाडौँ, सौराहा, पोखरा, कीर्तिपुर, सिमरा, झापालगायतका सहरको वायु प्रदूषणको सूचक हरेक घण्टा २५० हाराहारी पुग्ने गरको छ । यो मानव स्वास्थ्यका लागि अति हानिकारक वायुको अवस्था हो । यीबाहेक जुम्ला, रारा, धनकुटा लगायतका क्षेत्रमा विगत २४ घण्टामा उच्च स्तरमा प्रदूषणको सूचक बढेको थियो ।

विभागले आइतबार औपचारिक रूपमा प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न भाग जस्तै काठमाडौँ उपत्यकामा वायु प्रदूषणको स्तर उच्च रहेको जनाएको छ । वायु प्रदूषणको स्तर घटी वा बढी हुन मौसमले असर गर्ने जनाउँदै विभागले हालको जस्तै अवस्था रहेको खण्डमा वायु प्रदूषण यत्तिकै वा योभन्दा पनि खराब हुन सक्ने जनाएको छ । विभागका प्रवक्ता तथा उपमहानिर्देशक यन्दुविक्रम जोशीले लगातार बढेको प्रदूषणबाट जोगिन अपिल गरे । याे खबर आजको गोरखापत्र दैनिकमा छ ।