बिहिबार, बैशाख ६, २०८१

Ratopress

Advertisment

SKIP THIS

शितगंगा -१२ को माइकाकोट शिवालय शक्ति पिठमा शिवरात्रीको तयारी तीब्र

केशव बेल्बासे, शितगंगा ।
अर्घाखाँचीको शितगंगा नगरपालिका १२ खुम्चिकोटमा रहेको माइकाकोट शिवालय मन्दिर व्यवस्थापन समिति यतिबेला शिवरात्री पुजा व्यवस्थापनतर्फ व्यस्त दखिएको छ ।

भगवान शिवको आराधना र पुजा संगै भब्य रुपमा हरेक वर्ष हर्षोल्लाससाथ मनाईने महाशिवरात्री पुजाको लागी मन्दिर व्यवस्थापन समिति पुर्व तयारीमा लागेको हो । भक्तजनहरुलाई मध्यनजर गरी रुद्री, हवन,प्रसाद र भण्डारको समते व्यवस्था गर्ने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

भगवान शिवको शक्ति पिठका रुपमा रहेको माइकाकोट शिवालय सामुन्द्रिक सतहबाट करिब १३०० मिटरको उचाई तथा पहाडको उच्च टापुमा अवस्थित ऐतिहासिक तथा प्राचिन धार्मिक महत्वको शिव मन्दिर संगैै दुर्गा मन्दिर पनि अवस्थित रहेको छ । मन्दिरमा विगतका बर्षमा जस्तै यस बर्ष पनि भव्यरुपमा शिवको पुजाआराधना गरिने भएको हो । मन्दिर व्यवस्थापन समितिले यो वर्ष माहाशिवरात्रीमा अन्य वर्षको तुलनामा मेलालाई भब्य रुपमा आयोजना गर्न आफनो तयारीलाई ब्यापक बनाएको छ ।

उक्त पहाड चुरेपाहाड मध्यकै सबैभन्दा अग्लो भएकोहुदा त्यहाबाट तराईका विभिन्न क्षेत्रहरु, कपिलवस्तुको शिवगढी क्षेत्र, जगदीशपुर ताल, राप्ती नदी, ठाडा अमराई क्षेत्र, विभिन्न हिमालका मनोरम दृश्यहरु र भारतका केहिभागको समेत प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । उक्त पहाडमा बाइसे चौबिसे राजाको पालामा बनाइएका दरबारको भगनावशेष पनि पाउन सकिन्छ ।

पहाडको टापुमा पर्ने माइकाकोट स्थित एक विषेश ढुङ्गाको खोपिल्टोमा पानी कहिल्लै पनि नसुक्ने गरेको दुर्गा मन्दिर पुजारी गिरीराज बेल्वासेले बताउनु भयो ।

प्राचिन कालमा राजाले प्रयोग गरेका तरवार, घण्ट, संख आदि केहि चोरी भएपनि केहि अझै सुरक्षीत रहेको बताईएको छ । जिर्ण अवस्थामा रहेको मन्दिरलाई हाल भने नगरपालिकाको बजेटबाट दुर्गा मन्दिर र शिवालय मन्दिर पक्कि बनाउनुको साथै मन्दिर सम्म गाडि जाने बाटो, पार्किङ स्थल र पानि ट्यांकि निमार्ण भएपछि सहज भएको मन्दिर निमार्ण समिति संयोजक हरी बेल्वासेले बताउनु भयो ।

गोरुसिङ्गे सन्धिर्खक सडक खण्डबाट करीब ४ किलोमिटर भित्र चाक्ला सिद्दारा सडकबाट करिब २५ मिनेटको उकालो रताम्मे लालीगुरास र मनोरम वातावरणमा रमाउदै मन्दिरसम्म पुग्न सकिन्छ ।

प्राचीनकालदेखीनै उक्त क्षेत्रमा दशैको समयमा दुर्गाको पुजागर्दै आएपनि विगत केहि वर्षदेिख माहाशिवरात्रीमा शिवको पुजागर्दै आइएको हो ।

उक्त मन्दिरमा पुजा गर्नाले मानोकांक्षा पुराहुने विश्वास पनि रहेको छ । यहाँ माहाशिवरात्रीको दिन ठाडा, चाक्ला रजिया, निपाने, खुम्चिकोट, बर्रे, सिद्धारा लगायत आसपासका दर्शनार्थीको घुइचो लाग्ने गर्छ ।

उक्त क्षेत्रको विकासमा सबै तहको ध्यान पुगेमा आन्तरिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न सकिने सम्भावना रहेको छ ।