
अर्घाखाँची । स्थानीय एक बालक सो गुफा भित्र पसेपछि अर्घाखाँचीको शितगंगा न.पा. ९ बिसमुरेमा विचित्रका भगवानका आकृति भएका शिलाहरु भेटिए । गुफाको नजिक पुग्ने क्रममा कता–कता मानिसको आवाज सुनियो । जंगल गाई हेर्न गएका तिन जना बालकले आवाज पहिल्याउँदै जाँदा गुफामा पुगे । त्यहाँ पुग्दा भित्रबाट आवाज आयो । तिन मध्ये एक जना गुफाको ढोकामा पुगे । उनी भित्र पस्न डराए । दुई जनाले ति बालकलाई गुफाभित्र धकेलि दिए । उनी भित्र जाँदा गुफा भित्र धिपधिप बलेका मुर्तिहरु, उज्यालो बलिरहेको उनले देखे । उनले बाहिर रहेका दुवै जनालाई भित्र बोलाए । उनीहरुले त्यस भित्र विचित्र देखे । त्यसपछि गाउँभरि चर्चा–परिचर्चा हुन थाल्यो । गुफाको माथि धतुरोको बोट समेत रहेको हुदाँ शिवको प्रसाद समेत भएको कारण यस गुफालाई ‘सत्य महादेव’ भन्न थालियो ।
अर्घाखाँचीको शितगंगा न.पा. ९ स्थित भगवानका आकृति भएका शिलाहरु सहितको गुफा भित्र दर्शन गर्न सुतेरै पस्न र निस्कनुपर्छ । गुफाभित्र १५/२० जना जति अटाउन सकिन्छ । सेता चट्टानले बनेका त्यस गुफामा थुप्रै शिला देख्न सकिन्छ । सत्य महादेव गुफा भित्र विभिन्न भगवान र जनावरका आकृति देख्न सकिन्छ । त्यसमध्ये दुई फुट उचाइको शिलालाई सत्य महादेव भन्ने गरिन्छ । शिलाबाट तपतप पानी चुहिरन्छ ।
सत्य महादेवको प्राकृतिक बनोट हेर्दा असाध्यै सुन्दर र आनन्द लाग्यो । यस्तो गुफा जीवनमा पहिलो पटक देखेको हुँ ।
छेउमै बगेको कलकल पानीले त्यहाँ पुगेकालाई आनन्दित तुल्याउँछ । गाउँको पुछारमा रहेकाले शान्त वातावरण छ । पानी बग्ने सानो खोल्सो मात्रै होइन, शीतल अनुभूति गर्छन् ।
कार्तिक महिनामा अघि फेला परेका ती शिलाहरू हेर्न तथा पूजा गर्न शिवरात्रीमा आउने भक्तजनको घुइँचो लागेको थियो । शिला फेला परेपछि स्थानीयले पूजाआजा गर्न थालेका छन् । उक्त स्थानमा शिव महादेवले बास गरेको स्थान समेत रहेको किंवदन्ती छ ।
लौरी र बसेनीको बिचबाट २ किमि दूरीमा रहेको त्यस गुफामा पुग्न ओह्रालो र फर्कंदा उकालो बाटो छ । त्यहाँबाट करिब २० मिनेट पैदल हिँड्नुपर्छ ।
यहाँ गएको वर्ष देखि शिवरात्रीका दिन धार्मिक मेला लाग्ने गरेको छ । गुफामा मनोकांक्षा पुरा हुने विश्वास गरिन्छ । यस गुफामा पुजा गर्नाले सन्तान प्राप्ति तथा दिर्घायु र स्वास्थ्य लाभ हुने स्थानीय चुमान सिंह परियारले बताए ।
गुफामा पुजा गर्न छिमेकी जिल्ला दाङ, प्युठान र कपिलवस्तुबाट पनि भक्तजनहरु आउने गरेका छन् । तर भक्तजनहरु आउने र बास बस्न नजिकै बस्ती नभएकाले समस्या हुने गरेको छ । प्युठानबाट नजिकै रहेको यो गुफा जति चर्चा हुनु पर्ने हो त्यति हुन सकेको छैन ।
गुफाको थप प्रचार गर्न गुफासम्म पुग्ने सडकलाई स्तरोन्नती गरी बाह्रै महिना सडक सञ्चालन गर्नु पर्नेछ । गुफाको महत्व र धार्मिक आस्थाको केन्द्रको रुपमा विकास गर्न सके यसको अस्तित्व चुलिने निश्चित छ । सत्य महादेव पर्यटकीय स्थल रुपमा विकास गर्न सकिन्छ । जसको प्रचार–प्रसार हुन सकि रहेको छैन । प्राकृतिक रूपमा विचित्रको देखिने उक्त स्थानलाई संरक्षण गर्न गुफा संरक्षण समिति गठन गरिएको छ ।
के भन्छन् वडा अध्यक्ष केसी ?
- शितगंगा नगरपालिका–९ का वडाध्यक्ष भिम केसी भन्छन्, ‘सत्य महादेव गुफा वडाको प्रमुख पर्यटकीयस्थल हो । विभिन्न निकायहरुसँग समन्वय गरेर यसलाई नमुना पर्यटकीय स्थल बनाउन लागिपरेको छु । सत्य महादेवमा जान यस वर्ष सडक पुऱ्याईएको छ । त्यो सँगै यहाँको पर्यटकीयस्थलको भौतिक पूर्वाधार निर्माणमा विशेष ध्यान दिनेछु ।’ त्यसैले गुफासम्म पुग्न सडकको ट्रयाक खोलेको वडा अध्यक्ष भिम बहादुर केसीले बताए । (गणेश बेल्बासे संगमको फेसबुक वालबाट)