सोमवार, फाल्गुन १७, २०७७

शितगंगा-६ मा एमालेबाट निर्वाचित वडाअध्यक्ष सहित ३६ जना कांग्रेसमा प्रवेश

अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. ६ जुकेनामा नेकपा परित्याग गरी काँग्रेसमा प्रवेश गर्नेको लहर लागेको छ ।

नेपाली काँग्रेस वडा कार्य समितीले आयोजना गरेको विरोध सभामा नेकपाबाट असन्तुष्ट भएका एमाले बाट निर्वाचित पुर्व वडा अध्यक्ष तुल बहादुर भाट सहित साबिक ७ बाट २० जना काँग्रेस प्रवेश गरेका छन ।

त्यस्तै नेकपाका युवा नेता चन्द्र रेश्मि सहित साबिक ८ बाट १६ जना गरि जम्मा ३६ जना प्रबेश गरेको काँग्रेसले जनाएको छ ।

उनीहरू लाई कांग्रेस पार्टीका नेताले सदस्यता प्रदान गर्दै अबिर र खादा लगाएर पार्टी प्रवेश गराएका छन ।

नेकपाले सरकार सञ्चालनमा देखाएको तानाशाही प्रवृत्ति, भ्रष्टाचार, राष्ट्रिय ढिकुटी रित्याएर कार्यकर्ताको भरणपोषण गर्ने प्रवृत्तिप्रति वितृष्णा पैदा भएपछि सत्तारुढ दल त्यागेर आफू प्रमुख प्रतिपक्षी कांग्रेसमा प्रवेश गरेको भन्दै धारणा राखेका थिए ।

विरोध सभा नेपाली काँग्रेस सिनपा वडा नं. ६ का सभापति टामलाल ज्ञवालीको अध्यक्षता, प्रमुख अतिथी ट्रेड युनियन काङ्ग्रेस लुम्बिनी प्रदेश सचिब नन्दराम भट्टराई, आमन्त्रित जिल्ला सदस्य मिना पौडेल, नेपाली काङ्ग्रेस सितगंगा रुपन्देही सम्पर्क समिति अध्यक्ष बिष्णु पौडेल, अतिथि रामजित पौडेल, कमल ज्ञवाली, डोमलाल न्यौपाने लगायतले मन्तव्य राख्दै ओली सरकार अलोकतान्त्रिक भएको आरोप लगाए । कार्यक्रममा सयौंको संख्यामा उपस्थिति रहेको थियो ।