शुक्रबार, फाल्गुन २१, २०७७

भारत सरकारको सहयोगमा १० लाख कोरोना खोप आज नेपाल आइपुग्ने

काठमाडौं। नेपाल सरकारको पहलमा भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप आज (बिहीबार) काठमाडौं आइपुग्दै छ । सो खोप जोखिममा खटिएका व्यक्तिलाई प्राथमिकता निर्धारण गरेर उपलब्ध गराउने सरकारको तयारी छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन स्वास्थ्यकर्मीको विवरण संकलन गरिसकेको छ । पहिलो चरणमा प्राथमिकताका आधारमा स्वास्थ्यकर्मी, अस्पतालमा काम गर्ने सहयोगी, महिला स्वास्थ्य स्वयंसेविका, पालिकाका सफाइकर्मी, शव व्यवस्थापनमा खटिएकालाई खोप उपलब्ध गराउने तयारी छ ।

स्वास्थ्य मन्त्रालयद्वारा गठित खोप सल्लाहकार समितिका संयोजकसमेत रहेका खोपविज्ञ डा। श्यामराज उप्रेतीका अनुसार भारतबाट अनुदानमा ल्याइने कोभिसिल्ड भ्याक्सिन प्रत्येक व्यक्तिलाई दुई मात्रा दिइन्छ ।

उनले भने, ‘प्रत्येक व्यक्तिलाई दुई मात्रा कम्तीमा चार हप्ताको फरकमा लगाउनुपर्छ । एकपटकमा ०.५ एमएल मात्रा लगाउनुपर्ने हुन्छ ।’ यो खोप व्यक्तिको पाखुरामा लगाइन्छ ।

खोप कार्यक्रमलाई प्रभावकारी बनाउन संयन्त्र तयारी अवस्थामा छ । खोप लगाउने ठाउँमा खोप लगाइसके पश्चात् सो व्यक्तिलाई आधा घण्टा निगरानीमा राखिनेछ । अवाञ्छित घटना घटे सम्बन्धित अस्पतालमा उपचार केन्द्र निर्धारण गरिने बताइएको छ । यो खबर राजधानी दैनिकमा प्रकाशित छ ।