शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

संवैधानिक इजलासमा बहस जारी

काठमाडौं। प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा बहस गर्ने कानुन व्यवसायीको सङ्ख्या बढेपछि संवैधानिक इजलासले कानुन व्यवसायीलाई बहसका लागि समय तोकेको छ ।

बुधबार बहसको प्रारम्भमै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बाँकी सुनुवाइका लागि समय निर्धारण हुने जानकारी पक्षहरूलाई गराए । साथै उनले बहस प्रारम्भ गर्न लागेका वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीलाई ३० मिनेटमा बहस सक्न आग्रह गरे । मङ्गलबार अन्त्यतिर बहस सुरु गरेका ज्ञवालीले इजलाससँग एक घण्टाको समय माग गरे । मागअनुसार नै उनले बहस गरे ।

इजलास प्रारम्भ गर्दै जबराले निवेदक पक्षको बहस, विपक्षीको बहस र निवेदकको जवाफको समयसमेतलाई ध्यानमा राखेर बुधबारदेखि समय निर्धारण गरेको जानकारी गराएको थियो। “आजबाट हामीले समय निर्धारण गरेका छौँ । विपक्षीले पनि समय पाउनु प¥यो । अन्य निवेदक पनि हुनुहुन्छ । निवेदकले पछि जवाफको पनि समय माग गर्नुहुन्छ । अब समय निर्धारण हुन्छ”, उनले भने ।

त्यसैगरी इजलासले बुधबारदेखि नै मुद्दामा वकालतनामा बुझ्ने प्रक्रिया पनि बन्द गरेको छ । अब यसअघि नाम लेखाएका बाहेकका कानुन व्यवसायीले विघटनसँग सम्बन्धित रिटमा बहस गर्न नाम टिपाउन पाउने छैनन् । बुधबार निवेदक सन्तोष भण्डारीकै तर्फबाट कानुन व्यवसायीले बहस गरेका छन् । अन्त्यमा निवेदक कञ्चनकृष्ण न्यौपानेले आफ्नोतर्फबाट बहस गरे ।

संवैधानिक इजलासले मुद्दामा तीन सयभन्दा बढी कानुन व्यवसायीको वकालतनामा परिसकेको जनाएको छ तर मुद्दा महाशाखाले भने अन्तिम सूची तयार भइनसकेको जनाएको छ । महाशाखाको आइतबारको तथ्याङ्कअनुसार १८८ जनाको वकालतनामा छ । उक्त सङ्ख्या बढेको जानकारी भए पनि बिहीबार मात्र यकिन सङ्ख्या जानकारी हुने महाशाखा प्रमुख बाबुराम दाहालले जनाए । यो खबर गोेरखापत्र दैनिकमा प्रकाशित छ ।