मङ्लबार, माघ ६, २०७७

एमयूमा विद्यार्थीमाथि अश्रुग्यास र लाठीचार्ज, २ जना घाइते

सुर्खेत । ‘रिटेक’ परीक्षा दिन पाउनुपर्ने माग राख्दै धर्नामा बसेका मध्यपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायका विद्यार्थी र प्रहरीबीच झडप हुँदा २ विद्यार्थी घाइते भएका छन् । आइतबार साँझ करिब ७ बजे प्रहरीले ३ सेल अश्रुग्यास फायर गर्नुका साथै लाठीचार्ज गरेको थियो ।

इन्जिनियरिङ संकायका विद्यार्थीहरू रोशन बस्नेत र तर्कराज शाही घाइते भएका छन् । उनीहरूको माया नर्सिङ होममा उपचार भइरहेको छ । जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र भट्टले उपकुलपतिसहितका पदाधिकारीलाई कार्यालयबाट बाहिर निस्किन नदिएपछि प्रहरीले बल प्रयोग गरी हटाउने क्रममा दुई विद्यार्थी घाइते भएको बताए ।

विश्वविद्यालयका विद्यार्थी नेता गौतम बीसीका अनुसार विद्यार्थीले ‘रिटेक’ परीक्षा कायम राख्नुपर्नेलगायत माग राखेर बिहान ११ बजेदेखि विश्वविद्यालय केन्द्रीय कार्यालयमा धर्ना दिएका थिए । उनीहरूले उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहलाई ज्ञापनपत्र दिन खोजेको र उपकुलपतिले ज्ञापनपत्र बुझ्न नमानेपछि समस्या उत्पन्न भएको बताए । याे सामाचार कलेन्द्र सेजुवालले कान्तिपुरमा लेखेका छन् ।