सोमवार, माघ ५, २०७७

बुद्धभूमि नगरपालिकाको हिउँदे सभा सम्पन्न, १६ वटा कार्यविधि पारित

बुद्धभूमि । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको नीति केन्द्रित हिउँदे नगर सभाले सुकुम्बासी, दलित, भूमिहिन, र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने कामको औपचारिक रुपमा सुरुवात गरेको छ । भूमि सम्बन्धि समस्या समाधान आयोगसंग एमओयु गरी भूमि सम्बन्धि समस्या समाधान गर्ने जिम्मेवारी पाएको बुद्धभूमिले आवश्यक बजेट विनियोजन गरी कामको औपचारिक रुपमा सुरुवात गरेको हो ।

नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले आइतबार बसेको हिउँदे नगरसभाबाट भूमि सम्बन्धि समस्या समाधनका लागि चाहिने आवश्यक बजेट विनियोजन गरी काम थालिएको जानकारी दिनुभयो । भूमि सम्बन्धि समस्या समाधानका लागि नगरपालिकाले कार्यालय व्यवस्थापन, जनशक्ति परिचालन लगायतमा बजेट खर्च गर्ने नगर प्रमुख श्रेष्ठले बताउनुभयो । यसको लागि नगरसभाले साढे २८ लाख रकम विनियोजन गरेको उहाँले बताउनुभयो ।

साथै हिउँदे नगरसभाबाट दुई वटा ऐन पारित भएको छ । बुद्धभूमि नगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा गर्न बनेको ऐन र बुद्धभूमि नगरपालिकाको सार्वजनिक निजी साझेदारी ऐन पारित भएको हो । यस्तै श्रम सम्बन्धि नीति २०७७ पनि हिउँदेसभाबाट सर्वसम्मत पारित भएको प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले जानकारी दिनुभयो ।

चालु आवमा अहिलेसम्म ठूला प्रकृतिका योजनाहरुको प्रतिस्पर्धाको माध्यमद्धारा निर्माण कार्य गराउने प्रयोजनका लागि हालसम्म २६ ओटा योजनाको लागत इस्टिमेट स्विकृत गरी ई टेण्डर मार्फत ७ करोड ९१ लाखमा ठेक्का सम्झौता भएको हिउँदे नगरसभामा जानकारी दिइएको छ ।

यस्तै दुई लाखसम्मका योजना कार्यान्वयनको जिम्मा वडा कार्यालयमा दिई हालसम्म २८ वटा योजना सम्झौता भई कार्यान्वयन भएको छ भने आन्तरिक आम्दानी बढोत्तरीको अधिकतम प्रयास सुरु गरिएको नगर प्रवक्ता पवन कुमार थारुले जानकारी दिनुभयो ।

यस्तै चालु आवमा औषधि खरिद भई स्वास्थ्य संस्थाहरुमा वितरण भैसकेको र प्रत्येक विहीबार कोभिड-१९ को पीसिआर जाँच सञ्चालन भैरहेको पनि प्रवक्ता थारुले सुनाउनुभयो ।

चालु आवमा हालसम्म पूजीगत खर्त तर्फ ५.८ प्रतिशत र चालु तर्फ २२.९९ प्रतिशत खर्च भएको पत्रकार सम्मेलन मार्फत नगर प्रवक्ता थारुले जानकारी गराउनुभएको थियो ।

बुद्धभूमिले बनायाे १६ वटा कार्यविधि

बुद्धभूमि नगरपालिकाले आफुले जनतामा प्रवाह गर्ने काममा थप सहजतामा ल्याउन महत्वपूर्ण कामहरुको कार्यविधि बनाएको छ । नगरले गर्ने कतिपय काममा विभिन्न कठिनाई उत्पन्न हुने र समयमा काम नहुने समस्याका बीच नगररले कानुनी तथा प्रक्रियागत झण्झटबाट मुक्त हुनुका लागि कार्यविधि जारी गरेको हो ।

नगरपालिकाको आठौं हिउँदे सभामा चालु आवको ६ महिनामा निर्माण भएका १६ वटा कार्यविधिहरुको सर्वसम्मत रुपमा पारित गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले जानकारी दिनुभयो ।

नगरबाट गर्नै पर्ने महत्वपूर्ण कामहरुलाई सहज रुपमा सम्पन्न गर्न सकियोस भनेर कार्यविधि जारी गरिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।

यस्ता छन् नगपालिकाले बनाएका १६ कार्यविधि

 संस्थागत दर्ता तथा नियमन सम्बन्धी कार्यविधि- २०७७
 टोल विकास संस्था गठन तथा परिचालन सम्बन्धी कार्यविधि- २०७७
– नगर प्रहरी छनौट, सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि- २०७७
– फुसको छानारहित वा सुरक्षित फुसको छानायुक्त संरचना निर्माण सम्बन्धी कार्यविधि -२०७७
 घुम्ती मिल तथा पुरानो कपडाहरुबाट सिरक÷डसना बनाउने कार्य व्यवस्थित सम्बन्धी कार्यविधि- २०७७
 व्यवसाय करलाई व्यवस्थित बनाउने कार्यविधि- २०७७
– प्राइभेट फर्म दर्ता सम्बन्धी कार्यविधि -२०७७
– लैंगिक हिंसा विरुद्ध शून्य सहनशीलता सम्बन्धी कार्यविधि -२०७७
 अनुदानमा म्याचिङ प्लाष्टिक वितरण कार्यक्रम सम्बन्धी कार्यविधि -२०७७
 साना कृषि मेसिनरी उपकरण अनुदान कार्यक्रम कार्यविधि-२०७७
 अतिविपन्न तथा विदेशबाट फर्किएका विपन्न परिवारका सदस्य/व्यवसाय उन्मुख कृषकलाई अनुदान कार्यविधि- २०७७
– विपन्न परिवारका लागि मागमा आधारित प्रोत्साहन कार्यक्रम कार्यविधि -२०७७
– बुद्धभूमि नगरपालिकाभित्र बसोबास गर्ने एकल तथा एकल आश्रित परिवारको उद्यमशिलता सम्बन्धी कार्यक्रम कार्यान्वयन कार्यविधि -२०७७
– घर बहाल कर व्यवस्थापन कार्यविधि- २०७७
– पशु विकास सम्बन्धी कार्य सञ्चालन सम्बन्धी एकीकृत कार्यविधि -२०७७
अटो रिक्सा सञ्चालन तथा व्यवस्थापन कार्यविधि- २०७७

मायादेवि अनलाइनबाट साभार