एम.पि. बेल्बासे/ कपिलवस्तु ।
बुद्धभूमि नगरपालिका -३ बोक्टापुरका ३ सय ५० भन्दा बढी घरधुरीलाई खानेपानी वितरण गर्ने लक्ष्यसाथ निर्माण हुन लागेको खानेपानी ट्याङ्कीको शिलान्यास गरिएको छ । एक घर एक धारा अवधारणा अनुसार टाँकु बोक्टापुरका बासिन्दालाई लक्षित गरी निर्माण गर्न लागिएको हो ।
भृकुटीनगर खानेपानी उपभोक्ता समितिले आयोजना गरेको खानेपानी ओभर हेड ट्याङ्कीको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका सामाजिक विकास समितिका सभापति एवं प्रदेश सदस्य दिर्गनारायण पाण्डेले शुद्ध खानेपानी पाउनु जनताको मौलिक अधिकारलाई सुनिश्चित गरिने दाबी गर्नु भएको छ । सरकारले खानेपानीको यथोचित आवश्यकता पूर्ति गर्न कार्य गरिरहेको बताउनु भयो । आफ्नो क्षेत्रको समग्र विकासका लागि आफु निरन्तर प्रयत्नशील रहेको उहाँको भनाइ छ । उहाँले निर्माणको प्रक्रियामा रहेको खानेपानी ओभर हेड ट्यांकीको निर्माण तोकिएकै समय भित्र सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै एक घर एक धारा नारा अब चाडैनै पुरा हुने लक्ष्यसहित खानेपानी आयोजना अगाडी बढेको वडा अध्यक्ष गोविन्द प्रसाद आचार्य (विकास) ले बताउनुभयो । जनता मौलिक हकका रूपमा रहेको शुद्ध खानेपानीको व्यवस्थापनमा वडाले प्रदेश सरकारसँग समन्वय गरी द्रुतगतिमा कार्य गरिरहेको दाबी गर्नुभयो । उहाँले आफ्नै कार्यकाल भित्र वडाबासीलाई खानेपानीको पहुँचमा पुर्याउने गरी वडाले पहल कार्य गरिरहेको उल्लेख गर्नुभएको छ । उहाँले निर्वाचनको समयमा मतदाताहरू माझ गरिएका प्रतिबद्धता क्रमिक रूपमा पूरा भइरहेको बताउनु भएको छ । नागरिकको जीवन स्तरमा सुधार ल्याउन र दैनिक जीवनसंग जोडिएका विषयमा सकारात्मक परिवर्तन ल्याउन सरकार प्रतिबद्ध रहेको दाबी गर्नुभयो ।
टेण्डर मार्फत आएको जनसेवा निर्माण कन्ट्रक्सन प्रा.लि. का ठेकेदारलाई काम समयमा सक्न साथै स्टीमेट अनुसार तोकिएको मापदण्ड र गुणस्तरमा कुनै कसर बाँकी नराखी काम गर्नका लागी वडा अध्यक्ष आचार्यले आग्रह गर्नु भएको छ ।
खानेपानी उपभोक्ता समितिका अध्यक्ष हरी पराजुलीले २ लाख २५ हजार लिटर पानी अट्ने क्षमताको उक्त ट्याङ्की प्रदेश सरकारको रू. ९४ लाखको बजेटमा निर्माण हुन लागेको बताउनु भयो । २९ लाखको बाउन्ड्री तथा गेट निर्माण र ३५ लाखको डिप बोरिङ सम्पन्न भएर पानी आइसकेकाले जतिसक्दो छिटो ट्याङ्की निर्माण गरेर शुद्ध पानी वितरण शुरु गरिने उहाँले बताउनु भयो ।
६ करोड ११ लाख रूपैयाँ लागतमा खानेपानी आयोजना अगाढी बढेको भृकुटीनगर खानेपानी उपभोक्ता तथा समितिले जनाएको छ । टाँकु-बोक्टापुर गाउँका ३ सय ५० घर परिवार लाभान्वित हुने योजना रहेको छ । उक्त योजना स्थानिय सरकारको पहलमा प्रदेश सरकारको सहयोगमा निमार्ण गर्न लागिएको हो । आयोजना सम्पन्न भएपछि खानेपानीको समस्या समाधान हुने स्थानियको भनाई छ ।
कार्यक्रममा पुर्व शिक्षक एवं ११ बर्षे अमेरिकाको बसाई पछि नेपाल आएका सामाजिक अभियान्ता टेकराज पौडेल, जिल्ला खानेपानी डिभिजन कार्यालय तौलिहवाका इन्जिनियर तिलक न्यौपाने, समाजसेवी भेषराज बेल्बासे लगाएतले मन्तव्य व्यक्त राखेका थिए ।
कार्यक्रममा वडा सदस्य, कर्माचारी, प्राविधिक सहित समाजसेवी होमनारायण बेल्बासे, गणेश बेल्बासे, खिमराज आचार्य, कुलराज बेल्बासे, सुखराम थारु, राजकुमार थारु, लेखनाथ बेल्बासे, बिष्णु खनाल लगायतको उपस्थिती रहेको कार्यक्रममा रामलाल खनालको स्वागत मन्तव्य र प्रकाश आचार्यको संचालनमा सम्पन्न भएको आयोजकले रातो प्रेस डटकमलाई जानकारी गराएको छ ।