बुधबार, बैशाख १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

चीनसँगका सम्झौता कार्यान्वयन प्रक्रियामा छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चीनका रक्षामन्त्री वेइ फेङ्हेले दुई देशबीचको सम्बन्ध समस्यारहित रहेकाले आपसमा भएका सहमति र सम्झौता कार्यान्वयन प्रक्रिया अघि बढ्नेमा समान मत व्यक्त गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेटका क्रममा प्रधानमन्त्री ओलीले चीनका राज्य परिषद् सदस्य वेइसँग सन् २०१६ मा आफूले गरेको चीन भ्रमणका क्रममा भएको ‘व्यापार र पारवहन सम्झौता’ र अन्य द्विपक्षीय उच्चस्तरीय भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयनका क्रममा रहेको अवगत गराए।

भेटमा सहभागी प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईका अनुसार प्रधानमन्त्री ओलीले गत वर्ष नेपालका भएको चिनियाँ राष्ट्रपति सी चीन फिङको ऐतिहासिक र सफल भ्रमणको स्मरण गर्दै नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता दोहोर्याएका थिए।

प्रधानमन्त्री ओलीले दूरसञ्चार, रेल, विद्युत्, आर्थिक र सामाजिक क्षेत्रको पूर्वाधार विकासमा चीनले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे।

उनले नेपाल समृद्धिका क्षेत्रमा चीनको विकास र सफलताबाट सिक्न चाहेको पनि जनाए। प्रत्युत्तरमा चिनियाँ मन्त्री वेइले नेपालसँग भएका सम्झौताको कार्यान्वयनमा आफ्ना तर्फबाट कुनै समस्या नरहेको उल्लेख गर्दै दुवै देश शान्तिका पक्षमा रहेकाले कुनै एक र अर्को देशसँगको सम्बन्धमा तेस्रो मुलुकको सम्बन्धलाई जोड्न नहुने बताएका थिए।

उच्च अधिकारीले स्वागत गरेपछि सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै चिनियाँ रक्षामन्त्री फेङहेले पारस्परिक सैन्य सहयोग अभिवृद्धि गर्दै दुई देशबीचको विद्यमान सम्बन्धलाई थप सुदृढ तुल्याउनु आफ्नो भ्रमणको उद्देश्य भएको स्पष्ट पारेका थिए । – राससबाट