शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा छैन स्वास्थ्य सेवा

लुम्बिनी : लुम्बिनी प्रदेशको राजधानी भालुवाङका स्थानीयबासी स्वास्थ्य सेवाबाट बञ्चित छन् ।

भालुवाङमा एउटा स्वास्थ्य चौकी र केही औषधि पसल बाहेक अस्पताल छैनन् । स्वास्थ्य चौकीमा सामान्य रोगको उपचार हुने गरे पनि अन्य उपचारका लागि बुटवल जानुपर्ने बाध्यता छ भालुवाङवासीलाई । विगत २० वर्षदेखी भालुवाङमा होटेल व्यवसाय गर्दै आउनुभएका नारायण खनालका अनुसार स्थानीय अहिलेसम्म उपचारका लागि बुटवल जाने गरेका छन् । घोराही र तुलसीपुरमा ठूला अस्पतालहरु भए पनि भालुवाङवासी बुटवल नै जाने गरेको उहाँले बताउनुभयो । “घोराही जाँदा पनि ५० किलोमिटर जानुपर्छ, त्यहाँ उपचार सम्भव नभए फेरी नेपालगञ्ज जानुपर्ने भएकोले बुटवल नै जानेगरेका हौ”, खनालले भन्नुभयो ।

बुटवलमा उपचारका लागि सजिलो भने नरहेको उहाँले बताउनुभयो । “पैसा धेरै लाग्छ, जोहो गर्न गाह्रो हुन्छ, टाढा लैजादा बाटोमा नै ज्यान जान सक्छ, अब राजधानी भएपछि बन्छ की भन्ने आशा छ”, खनालले भन्नुभयो । विसं २०२० यहाँ बस्ती बसेको भए पनि यहाँका स्थानीयले स्वास्थ्य सेवा नपाउँदा दुःख लागेको उहाँले बताउनुभयो । विसं २०५७ सालमा अर्घाखाँचीको ढाकावाङबाट वसाईसराई गरेर दाङको भालुवाङ आउनुभएका खानालले उपचारका लागि कयांैपटक बुटवल गएको बताउनुहुन्छ । रोल्पा र प्युठानको प्रवेशद्वार र महेन्द्र राजमार्गको छेवैमा रहेको भालुवाङमा स्वास्थ्यसेवा नहुँदा ११० किलोमिटरको दुरी पार गरेर बुटवलमा उपचार गर्न जानुपर्ने बाध्यता छ उनीहरुलाई ।

विसं २०७५ देखि स्थानीय सरकारले भालुवाङमा रहेको लालमटिया स्वास्थ्य चौकीको स्तर बृद्धि गरेर एमबिबिएस डाक्टरको व्यवस्था गरे पछि केही राहत महशुस गरेको स्थानीय शारदा गुरुङ बताउनुहुन्छ । सानो रोग लागे पनि बुटवल जानुपर्ने भालुवाङवासीलाई अहिले स्वास्थ्य चौकीमा डाक्टर भए पछि केही सजिलो भएको उहाँले बताउनुभयो । “स्थानीय सरकार आएपछि नहुनुभन्दा त धेरै भएको छ तर, सानो भए पनि अस्पताल नै भईदिए राम्रो हुन्थ्यो”, गुरुङले भन्नुभयो । स्वास्थ्य क्षेत्रको लागि गाँउपालिकाको बजेटले थप स्तरोन्नती गर्न समस्या रहेको वडा नं १ का अध्यक्ष ताराबहादुर डिसी बताउनुहुन्छ ।

अहेव र अनमीको भरमा रहेको स्वास्थ्यचौकीलाई अहिले डाक्टरको व्यवस्था गरेको उहाँले बताउनुभयो । “ल्याब र भिडियो एक्सरे सेवा पनि भर्खरै थपेका छौँ, यो भन्दा धेरै गर्न त प्रदेश र सङ्घीय सरकारले बजेटको व्यवस्था गर्नुपर्छ”, अध्यक्ष डिसीले भन्नुभयो । सबैको नजर परेर पनि उपेक्षामा रहेको भालुवाङमा प्रदेशको राजधानी घोषणाले न्याय गरेको उहाँको भनाइ छ । दाङको उपनिवेशको रुपमा रहेको भालुवाङमा राजधानीका संरचना बन्दा विकासले गति लिनेमा स्थानीयको अपेक्षा छ ।

राप्ति गाँउपालिकामा मात्रै ४० हजार जनसङ्ख्या छ । त्यस्तै नजिकको शितगङ्गा नगरपालिकाको वडा नं ८ र ९, गढवा गाँउपालीकाको १ र २ तथा प्युठानको सरुमारानी गाँउपालिकाको मुख्य बजारको रुपमा भालुवाङ रहेको छ । लुम्बिनी प्रदेश सरकारले दाङको भालुवाङ राजधानी घोषणा गरेपछि विकासले फड्को मार्ने आशामा स्थानीवासी रहेका छन् । भालुवाङमै नभए पनि २७ किलोमिटरमा रहेको लमही बजारमा भर्खँरै प्रदेश सरकारले ट्रमा सेन्टर खोल्ने भए पछि भालुवाङवासी पनि खुशी भएका छन् ।