मङ्लबार, बैशाख ४, २०८१

Ratopress

Advertisment

SKIP THIS

बुधबार पनि नेप्से बढ्याे, ४ अर्ब रुपैयाँभन्दा धेरैकाे काराेबार

काठमाण्डाै : बुधबार पनि शेयर बजारमा परिसूचक नेप्से बढेको छ । नेप्से १ दशमलव ७२ प्रतिशत अर्थात् २८ दशमलव ८९ अङ्कले बढेर १ हजार ७ सय ६७ विन्दुमा पुगेको छ । मङ्गलबार शेयर बजार परिसूचक नेप्से झण्डै २६ अङ्कले बढेको थियाे ।

सेन्सेटिभ परिसूचक पनि ५ दशमलव २३ अङ्कले बढेर ३ सय ३५ दशमलव ६२ अङ्कमा पुगेकाे छ । नेप्से परिसूचक बढ्नुमा बैंकिङ प्रणालीमा रहेको अधिक तरलतालाई प्रमुख कारणको रुपमा लिइएको छ ।

बैंकमा अधिक तरलता हुँदा ब्याजदर सस्तो भएको छ । सस्तो ब्याजदर भएकै कारण शेयर बजारमा राम्रो प्रभाव परेको देखिएको छ । अहिले बैंकिङ क्षेत्रमा निक्षेपको ब्याजदर ५ प्रतिशतभन्दा तल छ भने कर्जाको ब्याजदर पनि ८ प्रतिशतको आसपासमा छ । सस्तो ब्याजदरमा कर्जा पाउने भएपछि लगानीकर्ता उत्साहित भएका हुन् ।

यसबाहेक बैंक तथा वित्तीय संस्थालगायत नेप्सेमा सूचीकृत कम्पनीहरुले गएकाे वर्षको नाफाबाट लाभांश घोषणा गरिरहेकाले त्यसको असर पनि बजारमा देखिएको छ । यस्तै चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणहरू प्रकाशित भइराखेको र अधिकांश कम्पनीहरुको वासलात राम्रो देखिएपछि लगानीकर्ताले लगानी बढाएका छन् । त्यसैले बजारमा लगानी भित्रिँदा शेयरको माग बढ्न गएकाले परिसूचकमा पनि सकारात्मक असर परेको देखिन्छ ।

बुुधबार बजारमा चार अर्ब नाै करोड ९६ लाख चार हजार सात सय ४२ रुपैयाँ बराबरको एक करोड २४ लाख २३ हजार ६ सय ५१ कित्ता शेयर खरिद बिक्री भएको छ ।

कारोबारमा आएका समूहमध्ये फाइनान्स समूहबाहेकका सबै समूह बढेका छन् । सबैभन्दा धेरै व्यापार समूह ९ दशमलव ९९ प्रतिशतले बढेको छ । उत्पादन तथा प्रशोधन समूह ६ दशमलव २१ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समूह, म्युचल फण्ड र अन्य समूह ४ प्रतिशत बढीले बढेका छन् । बैंकिङ समूह पनि १ दशमलव १५ प्रतिशतले बढेको छ ।

बुधबार सबैभन्दा धेरै कारोबार नेपाल दूरसञ्चार कम्पनीको २५ करोड ९० लाख २८ हजार नाै सय ३० रुपैयाँको भएको छ । यस्तै हिमालयन डिस्टिलरीको शेयर कारोबार पनि १८ करोड ८६ लाख ४० हजार रुपैयाँ बढीको भएको छ । यसबाहेक १५ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार हुने कम्पनीहरूमा एनआईसी एसिया बैंक, नागरिक लगानी कोष, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल पुनर्बीमा कम्पनी रहेका छन् ।

यस्तै साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । ९ प्रतिशतभन्दा माथि शेयर मूल्य बढ्ने कम्पनीहरूमा लक्ष्मी इक्युटी फण्ड, नागरिक लगानी कोष, विशाल बजार कम्पनी, एनआईसी एसिया ग्रोथ फण्ड, सानिमा जनरल इन्स्योरेन्स कम्पनीलगायतका रहेका छन् ।

बजार बढे पनि आईसीएफसी फाइनान्स, सेन्ट्रल फाइनान्सलगायतका कम्पनीहरुको शेयर मूल्य भने घटेको छ ।