बुधबार, बैशाख १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

चिसो बढेसँगै बालबालिकालाई जोगाउन डाक्टरको आग्रह, हिटर कोइला वा दाउरा भने बाल्न नहुने

THERMOM cold

काठमाण्डौ : चिसो मौसममा बालबालिकाहरुमा विभिन्न स्वास्थ्य समस्या देखिन सक्ने भएकाले सावधानी अपनाउन डाक्टरले सुझाव दिएका छन् ।

चिसो मौसममा बालबालिकामा विशेषगरी, निमोनिया, रुघाखोकी, सिजनल फ्लू, मौसमी झाडापखाला, पेट र स्वासप्रश्वाससम्बन्धी समस्या देखिन सक्ने भएकाले सावधानी अपनाउन काठमाण्डौ मेडिकल कलेजका सामुदायिक चिकित्सा विभागका विभागीय प्रमुख प्राध्यापक डाक्टर सुनिलकुमार जोशीको आग्रह छ । यस्ता समस्या देखिनुको मुख्य कारण भनेको सङ्क्रमण नै हो ।

सङ्क्रमणबाट जोगाउन सकिएन भने बालबालिकाको ज्यान नै जान सक्ने भएकाले अरु समयको तुलनामा बालबालिकाको बढी ख्याल राख्न उहाँले आग्रह गर्नुभएको छ । जाडो समयमा रोगप्रतिरोधात्मक क्षमता समेत कम हुन्छ । त्यसैले बालबालिकालाई न्यानो लुगा लगाइदिने, सागसब्जी र तातो झोलिलो खानेकुरा खान दिनु पर्छ ।

उनीहरुलाई चिसो मौसममा फल्ने सुन्तला, जुनारलगायतका फलफूल पनि थोरै मात्रामा खुवाउनु राम्रो हुन्छ । यस्ता फलफूलले उनीहरुको छाला सुख्खा हुन पाउँदैन । चिसो भयो भनेर लामो समयसम्म कोठाभित्र हिटर, कोइला वा दाउरा बाल्न नहुने डाक्टर जोशी बताउनुहुन्छ ।

लामो समय कोठामा दाउरा, कोइला तथा हिटर बालेर राख्दा अक्सिजनको कमी भएर स्वासप्रश्वाससम्बन्धी समस्या आउन सक्छ । दाउरा, कोइला तथा हिटर बाल्दा झ्याल वा ढोका खुला राख्नुपर्छ । यसो गर्दा कोठाको बिकार हावा बाहिर जान्छ । र बाहिरबाट शुद्ध हावा भित्र छिर्न पाउँछ ।

यसका साथै अक्सिजनको पनि कमी हुन पाउँदैन । बालबालिकालाई न्यानो कपडा लगाइदिने गर्नुपर्छ । तर गुम्स्याएर राख्नु भने हुँदैन । घरमा कसैलाई रुघाखोकी लागेको छ भने बालबालिकालाई त्यसबाट टाढा राख्नुपर्छ । नत्र बालबालिकालाई पनि सर्ने सम्भावना हुन्छ ।

नवजात शिशुलाई राख्ने कोठालाई २५ देखि २८ डिग्री सेल्सियस तापक्रममा राख्नु पर्ने डाक्टर जोशी बताउनुहुन्छ । बालबालिकालाई-बिहान र बेलुकाको चिसो हावामा घर बाहिर निस्कन दिनु हुँदैन । घाममा राख्दा समय समयमा पानी खुवाउने गर्नुपर्छ ।