शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

माइनसमा झर्‍याे जुम्लाको तापक्रम : जनजीवन प्रभावित

THERMOM cold

जुम्ला : जुम्लामा चिसो बढेपछि जनजीवन प्रभावित हुन थालेको छ । मौसम फेरिए सँगै एक्कासी तापक्रम घटेपछि चिसो समेत बढेको छ ।

जल तथा मौसम विज्ञान कार्यालय जुम्लाका अनुसार न्यूनतम तापक्रम माइनस १ डिग्रीमा झरेको छ । कार्यालयका अनुसार अधिकतम तापक्रम भने २० दशमलव १ डिग्री रहेको छ ।

चिसो बढेपछि मानिसहरु बाक्लो कपडा लगाउने, न्यानो गर्ने, तातोपानीको प्रयोग गर्ने काम शुरु भएको छ । तापक्रम माइनसमा झरेपछि विशेषगरी यहाँको जनजीवन प्रभावित भएको हो । विशेषगरी बालबालिका र ज्येष्ठ नागरिकहरुमा रुघाखोकी बढ्न थालेको छ । मौसम फेरिए सँगै रुघाखोकीका बिरामीहरु बढ्न थालेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका अस्पताल निर्देशक डाक्टर मंगल रावलले रुघाखोकी र श्वास प्रश्वासका बिरामी केही बढेका बताउनुभयो । उहाँका अनुसार अहिले कोरोना पनि भएकाले कोरोना वा रुघाखोकी के भएको हाे भन्नेमा डर भइरहेको बताउनुभयो ।

एकातर्फ मौसम परिर्वतनको समय र अर्कोतर्फ कोरोना महामारी भएकाले न्यानो कपडा लगाउन, तातोपानी खान, भीँडभाड नगर्न तथा व्यक्ति आफैले जनस्वास्थ्यको मापदण्ड पालना गरी सुरक्षित हुन पनि डाक्टर रावलले सुझाव दिनुभयो ।

एक हप्ता अघि देखि नै बादल आउने र जाने भइरहेकाले उच्च हिमाली क्षेत्रमा हिउँ पर्न सक्ने अनुमान गरिएको छ । यसैगरी मेशिनरी सामान तथा सवारी साधन पनि चिसोले जाम हुन थालेका छन् । सोलारमा तुषारो जम्ने भएपछि टेलिफोन तथा ईन्टरनेटमा समेत समस्या देखिन थालेको छ । चिसोले पत्रिका छाप्ने छापाखानामा पनि प्रभावित हुन थालेको कर्णाली सरोकार दैनिकका व्यवस्थापक धर्मसिंह कठायतले जानकारी दिनुभयो । यसैगरी चिसो बढेसँगै तातोपानीमा नुहाउनेको भीड पनि बढेको छ ।