मङ्लबार, बैशाख ११, २०८१

Ratopress

Advertisment

SKIP THIS

बडादशैंको पाँचौं दिन, स्कन्दमाताको विशेष पूजा गरिँदै

काठमाडौं : बडादशैंको पाँचौं दिन बुधबार देवीको पाँचौं रुप स्कन्दमाताको पूजा गरिँदै छ । भूमिमा रहेको वीर्यबीज शक्तिबाट स्कन्दलाई जन्म दिएकी हुनाले माता पार्वतीको यो रुपलाई स्कन्दमाता भनेर पूजा गर्ने गरिन्छ । शिवको पसिनाबाट वीर्यबीज बनेको र त्यसैबाट कार्तिकेय वा स्कन्दको जन्म भएकाले स्कन्दमातालाई कर्म र परिश्रमको प्रतीक मानिन्छ ।

स्कन्दमाताको वदन वर्ण पहेंलो चित्रण गरिएको छ । यी देवी मानस गद्दीमा बसेकी र हातमा कमलको फूल धारण गरेकी छन् । यस्ती देवीको भक्ति गर्नाले सन्तान सुख पाइनुका साथै उर्वराले धर्ती सुसम्पन्न हुने बताइएको छ ।

सूर्यमण्डलकी अधिष्ठात्री देवी भएकाले स्कन्दमाताको चारैतिर तेज देखिन्छ । स्कन्दमाताको उपासनाबाट भगवान् स्कन्दको बाल रुपको पनि पूजा हुने गर्दछ ।

स्कन्दमाताको पूजा गर्दा साधकको मन विशुद्ध चक्रमा अवस्थित हुनुपर्दछ । यसबाट ध्यान वृत्ति एकाग्र हुन मद्धत पुग्दछ । यो शक्तिले परम शान्ति र सुखको अनुभूति दिलाउँछ ।

स्कन्दमाताको कृपाबाट बुद्धिमा वृद्धि हुने गर्दछ भने ज्ञानरुपी आशिर्वाद मिल्दछ । सबै किसिमको रोगव्याधीको समेत अन्त्य हुने गर्दछ ।

यस्तो छ स्कन्दमाताको स्तुति मन्त्र
‘सिंहासनगता नित्यं, पद्माश्रितकरद्धया ।
शुभदास्तु सदा देवी, स्कन्दमाता यशस्विनी ।।’

दशैं नेपालीहरूको सबैभन्दा विशेष पर्व मानिन्छ । नेपाली हिन्दू पात्रो अनुसार आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म दश दिन पूजापाठ, व्रत र उत्सवका साथ मनाइने चाड भएको हुनाले यसलाई दशैं वा विजया दशमीका नामले पनि चिनिन्छ ।

दशैं आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु हुन्छ र यो पहिलो दिनलाई घटस्थापना भनिन्छ ।

दशैं प्रतिपदा घटस्थापनादेखि पूर्णिमा (कोजाग्रत) सम्म पन्ध्र दिनको हुने भएता पनि पहिलो नौ दिनलाई नवरात्रि र दशौं दिनलाई विजयादशमी भनिन्छ ।

यो पर्वमा माता दुर्गाले महिषासुर, शुम्भादि दैत्यलाई तथा भगवान् श्री रामचन्द्रले रावणलाई वध गरेर मानवजातिको कल्याण गरेको मान्यता छ ।

प्रतिपदा (घटस्थापना), सप्तमी (फूलपाती), महाअष्टमी, (कालरात्रि) महानवमी, विजयादशमी र पूर्णिमा (कोजाग्रत) दशैंका प्रमुख तिथिहरू हुन् ।