मङ्लबार, बैशाख ११, २०८१

Ratopress

Advertisment

SKIP THIS

नेपाली कांग्रेस : ‘तोडफोड पार्टीको नीति विपरीत’

काठमाडौं : प्रदेश ५ का सांसदहरूले गरेको कुर्ची तोडफोड पार्टीको नीति र संस्कृति विपरीत भएको नेपाली कांग्रेसले जनाएको छ। तोडफोडमा संलग्न सांसदलाई कारबाही गर्ने सो पार्टीले संकेत गरेको छ।

प्रदेश ५ को प्रदेशसभा बैठकमा प्रदेशको नाम र राजधानीबारे प्रस्ताव पेस गर्ने क्रममा सोमबार प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदले कुर्सी तोडफोड गरेका थिए। प्रदेश सरकारको विरोध गर्दै उनीहरूले प्रदेश मन्त्रीलाई प्रस्ताव पेस गर्न रोस्ट्रम जाने क्रममा अवरोध प्रयाससमेत गरेका थिए।

कांग्रेस सांसदले गरेको व्यवहारको चौतर्फी आलोचना भएपछि पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले कुर्सी तोडफोड गर्ने कार्यलाई छिटपुट भनेर नछोप्ने स्पष्ट पारेका छन्। ‘संसदीय व्यवस्था कम्युनिस्टका लागि बाध्यता र कांग्रेसका लागि रोजाइको पद्धति हो। यसलाई परिमार्जित र सुसंस्कृत बनाउँदै अघि बढ्ने कर्तव्य पनि हाम्रै हो’ उनले भने, ‘अरूका गल्ती सच्याउँदै बढ्न प्रेरित गर्ने कांग्रेस आफ्नाको छिटपुट भनेर छोप्दैन, कठोरतापूर्वक सच्याएर बढ्ने सामथ्र्य राख्नेछौं।’

प्रदश ५ का कांग्रेसका तीन सांसदले कुर्सी टेबलमा बजार्नुका साथै रोस्टमतर्फ फालेका थिए। सांसदहरू बसिउद्दिन खाँ, बैजनाथ कलवार र अष्टभूजा पाठकले कुर्सी तोडफोड गरेका हुन्। तत्कालीन नेकपा माओवादीका सांसदले अर्थमन्त्रीलाई प्रतिनिधिसभामा बजेट पेस गर्नेक्रममा कुर्सी तोडफोड गर्नुका साथै मन्त्रीको हातबाट बजेटको ब्रिफकेस खोस्न गरेको प्रयासको घटनासँग तुलना गर्दै सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ।