मङ्लबार, बैशाख ११, २०८१

Ratopress

Advertisment

SKIP THIS

प्रदेश ५ : राजधानी र नामको प्रस्तावमा मतदान गर्ने नेकपाको निर्णय

रुपन्देही : प्रदेश नं ५ सरकारले शुक्रबार प्रदेशसभामा प्रदेशको स्थायी राजधानी र नामाकरणको प्रस्तावका पक्षमा मतदान गर्न सत्तापक्षीय दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ह्वीप जारी गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री शङ्कर पोखरेलको सरकारी निवासमा शनिबार बसेको संसदीय दलको बैठकले सरकारका तर्फबाट शुक्रबार प्रदेशसभामा प्रस्तुत स्थायी राजधानी र नामाकरणको प्रस्तावमा मतदान हुँदा अनिवार्य उपस्थित हुन र प्रस्तावका पक्षमा मतदान गर्न ह्वीप जारी गर्ने निर्णय गरिएको नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिनुभयो ।

उहाँले कसैले पनि संसदीय दलको ह्वीपको उल्लङ्घन गरेमा पार्टी विधानबमोजिम कारबाही हुनेसमेत चेतावनी दिनुभएको छ । दलका सचेतक ढकालले पाल्पा, रुपन्देही र कपिलवस्तुका प्रदेशसभा सदस्यले कपिलवस्तुमा राजधानी हुनुपर्ने धारणासहित सरकारको तर्फबाट प्रस्ताव गरिएको विषयमा फरकमत राख्नुभएको समेत बताउनुभयो ।

उहाँले बैठकमा आएका फरकमतलाई संसदीय दलमा सङ्ग्रहणीय र सुरक्षित गर्ने र सबैले सरकारको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय भएको समेत जानकारी दिनुभयो । प्रदेशसभा सदस्यले राखेका धारणााको जवाफमा पार्टी संसदीय दलका नेता तथा मुख्यमन्त्री शङ्कर पोखरेलले पार्टी निर्णयविपरीत नजान निर्देशन दिनुभयो ।

उहाँले सरकारले प्रदेशसभामा प्रस्तुत गरेको प्रस्तावप्रति असहमत रहेका प्रदेशसभा सदस्यका धारण आ-आफ्ना क्षेत्रका मतदाताप्रतिको जवाफदेहिताका कारणले आएकाले जायज रहेको बताउनुभयो ।

उहाँले सबै जिल्लाका मागको सम्बोधन गर्दा असजिलो भए पनि एउटा साझा धारणा बनाएर निर्णयमा जानुपर्ने बाध्यताले सरकारले अघि सारेको यस प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिनुभयो ।

सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्र र नाम लुम्बिनी राख्न प्रदेशसभामा प्रस्ताव पेश गरेको छ । प्रदेशसभाको शुक्रबारको बैठकमा प्रदेश सरकारकातर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले यस्तो प्रस्ताव पेश गर्नुभएको हो ।

सरकारले दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिका तथा अर्घाखाँचीको सितगङ्गा नगरपालिकाले ओगटेको राप्ती नदीले चर्चेको किनारको भाग देउखुरी उपत्यकालाई प्रदेशको स्थायी राजधानी बनाउन प्रस्ताव गर्नुभएको छ ।

संसदीय दलमा फरक मत

सरकारले प्रदेशको राजधानी सार्ने प्रस्तावप्रति नेकपाको शनिबारको संसदीय दलको बैठकमा रुपन्देही, कपिलवस्तु र पाल्पाका १४ जना सदस्यले असहमति जाहेर गर्दै फरक मत दर्ज गर्नुभएको छ ।

फरक मत दर्ज गर्नेमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, डा.कृष्ण न्यौपाने, दधिराम न्यौपाने, सुनिता ठडेर, तुलसीप्रसाद चौधरी, थानकुमारी थापा, विमला पन्थी, पाल्पामा युवराज खनाल, नारायण आचार्य, रमा घर्तीमगर र डा‍. पुरन बज्राचार्य रहनुभएको प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै कपिलवस्तुका प्रदेश सदस्य विष्णुप्रसाद पन्थी, धर्मबहादुर लाल श्रीवास्तव, फौजिया मियाँले कपिलवस्तु प्रदेश राजधानीका लागि सबैभन्दा उपयुक्त भएकाले निर्णयमा पुनर्विचार गर्न आग्रह गर्नु भएकाे छ ।

यस प्रस्तावमाथि यही असोज १९ गतेदेखि छलफल सुरु हुने प्रदेशसभाको कार्यक्रम छ ।