सोमवार, अशोज १२, २०७७

मल नल्याउने दुई कम्पनीसँगको ठेक्का रद्ध : धरौटी जफत, कालोसूची राखिने

काठमाडौं : समयमै रासायनिक मल आपूर्ति नगर्ने दुई नेपाली कम्पनीलाई कृषि सामग्री कम्पनी लिमिटेडले कारबाही गरेको छ । देशका विभिन्न स्थानमा मल नपाउँदा किसान आन्दोलित हुन थालेपछि समयमै मल नल्याउने ठेकदार शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज, ललितपुर र हुमनाथ कोइरालाको होनिको मल्टिप्रपोज कम्पनी, काठमाडौंसँगको ठेक्का सम्झौता रद्ध गरेको हो ।
कृषि सामग्री कम्पनी लिमिटेडले शैलुङ इन्टरप्राइजेजसँग वैशाख १२ गते र होनिको मल्टिप्रपोज कम्पनीसँग १५ गते २५/२५ मेट्रिक टन युरिया मल खरिद गर्नका लागि सम्झौता भएपनि तोकिएको समयमा नल्याएपछि कारबाही गरिएको प्रबन्ध संचालक नेत्र बहादुर भण्डारीले जानकारी दिए।

उनीहरुले साउन ७ गतेभित्र मल ल्याइसक्नुपर्नेमा सप्लाएर्सको अनुरोध २५ दिन समय थप गरिएको थियो। दुवै कम्पनीले भदौ २० गतेसम्म ५० हजार मेट्रिक टन युरिया मल ल्याइसक्ने पर्नेमा त्यस्तो नगरेकाले कारबाही गरिएको जनाएको छ।

आफूहरुले पटक-पटक ताकेता गर्दा पनि सामान आउने नआउने कुनै वस्तुगत एवं विश्वसनिय तथ्य प्रमाणहरु प्राप्त नभएकोले आइतबारको निर्णय अनुसार निज सप्लायर्सहरुले राखेको जमानत जफत गरी सम्झौता रद्द गरिएको कृषि सामग्री कम्पनी प्रबन्ध संचालक भण्डारीले बताए।

उनका अनुसार प्रचलित कानून एवं सार्वजनिक खरिद ऐन तथा नियमावली बमोजिम सप्लायरहरुसँग क्षतिपूर्ति दावी गरिने र दुवै कम्पनीहरुलाई कालोसूचीमा राख्न आवश्यक प्रक्रिया अगाडि बढाइने छ।