बुधबार, बैशाख ५, २०८१

Ratopress

Advertisment

SKIP THIS

टिकटकले गर्दा नेपालमा इन्टरनेट ‘स्लो’

काठमाडौं: सेवा प्रदायकले विदेशबाट ल्याउने ब्यान्डविथ, विभिन्न सर्भर र मोबाइल एपलगायतमा आउने समस्याका कारण इन्टरनेटको स्पीड स्लो हुनसक्ने बताएका छन् ।

प्रविधि पत्रकार मञ्च (टीजेएफ) नेपालले गरेको भर्चुअल अन्तरक्रियामा उनीहरुले इन्टरनेट स्लो हुनुमा आफुहरुको मात्रै कमजोरी नभएको पनि प्रष्ट पारेका छन् ।

सुबिसु केवल नेट प्रालीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनयमोहन साउदले भारतका टाटा, एअरटेललगायतका कम्पनीमा समस्या आउँदा, कुनै सेवा क्षमता भन्दाधेरै प्रयोग हुँदा र उपभोक्ताले प्रयोग गर्ने डिभाइसको गुणस्तर आदि कारणले पनि इन्टरनेट स्लो हुन सक्ने बताए ।

‘ग्राहकको गुनासो जायज नै हो, इन्टरनेट सेवा प्रदायकले चर्को प्रतिष्पर्धाका कारण आफूसँग भएको क्षमताभन्दा धेरै एमबीपीएस दिन्छु भनेका पनि हुन सक्छन्, तर धेरै समस्या हाम्रो कारणले मात्रै आएका हुँदैनन्, हामी त उपभोक्ता र सर्भर वा एपबीचको पुल मात्रै हौं, तीन पक्षमध्ये एउटामा समस्या आयो भने इन्टरनेट स्लो हुन्छ’ उनले भने ।

सिइओ साउदले ग्राहकको गुनासो सम्बोधनका लागि सबै सेवा प्रदायकले काम गरिरहेका र यसमा आफूहरुको पहलले मात्रै पूर्ण समाधान नआउने धारणा राखे ।

उनले कुनै बेला फेसबुक, युटुब, टिकटकलगायतका प्लेटफर्ममै समस्या आएको अवस्थामा पनि उपभोक्ताले इन्टरनेट सेवा प्रदायकलाई दोषी ठान्ने गरेको गुनासो गरे ।

यस्तै भायनेट कम्युनिकेसन प्रालिका प्रबन्ध निर्देशक विनय बोहोराले इन्टरनेट स्लो हुने उपभोक्ताको गुनासो कहिल्यै पनि अन्त्य नहुने धारणा राखे ‘अहिले टिकटकका कारण नै इन्टरनेट स्लो भएको छ, भोलि यस्तै अर्को एप आउला, धेरै इन्टरनेट खपत गर्ने साइट आउला, त्यो बेला पनि इन्टरनेट केही स्लो हुन सक्छ, त्यसैले यसको गुनासो पूर्णरुपमा समाधान हुन सक्दैन, हामीले कम गर्दै लैजाने हो ।’

अहिले ८० प्रतिशत इन्टरनेट खपत भिडियोेमै रहेको र यो बढ्दो क्रममा रहेकाले आउँदा दिनमा कसरी गुणस्तरीय इन्टरनेट दिने भन्ने विषय चुनौतीपूर्ण रहेको आजको राजधानी दैनिकमा खवर छ ।