शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

काठमाण्डौ उपत्यकाका पालिकामा अत्यावश्यक बाहेकका सबै सेवा ३ हप्ता बन्द

काठमाण्डौ : काठमाण्डौ उपत्यकाभित्रका पालिकाहरुले अत्यावश्यक बाहेकका सबै सेवा तीन हप्ताका लागि बन्द गर्ने निर्णय गरेका छन् । काठमाण्डाै उपत्यकाभित्र रहेका नगरपालिकाका मेयरहरुको सङ्गठन ‘नगरपालिका मेयर फोरम’ को सोमबार बसेको बैठकले तीन हप्ताका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।

बैठकपछि निर्णय सुनाउँदै मध्यपुर ठिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले उपत्यकाभित्र समुदायस्तरमा सङ्क्रमणको उच्च जोखिम देखिएकोले भिडभाड कम गर्न अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय भएको बताउनुभयो । बैठकले सार्वजनिक यातायात पूर्णरुपमा सञ्चालन भएपछि सङ्क्रमण तीव्र गतिमा फैलिएको भन्दै सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ गतेसम्म फेरि रोक लगाउन सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

यस्तै कलकारखाना, उद्योग धन्दा, निर्वाध रुपमा सञ्चालन भइरहँदा सङ्क्रमणको जोखिम बढेकोले उद्योग तथा कलकारखानाभित्रै क्वरेण्टीनकाे व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पूरा गरेपछि मात्रै सञ्चालन गर्न दिने निर्णय गरेको छ । यसैगरी सामाजिक सुरक्षा भत्ता प्रायोजनको लागि नवीकरण गर्ने म्याद साउन मसान्तसम्म रहेकोमा असोज मसान्तसम्म कायम गर्न, उपत्यका प्रवेश गर्ने प्रस्थान बिन्दुमा कडाइ गर्न र एकीकृत क्वरेण्टीन सङ्घीय सरकारले सञ्चालन गर्ने र पालिकाले व्यवस्थापनमा सहयोग गर्ने गरी तयारी गर्न सरकारलाई अनुरोध गर्ने निर्णय पनि मेयरहरुले गरेका छन् ।

फोरमले सङ्क्रमण फैलन सक्ने अवस्थालाई ध्यान दिएर सरकारको समर्थन वा विरोधमा र्‍याली, भेला, अनसन, जुलुसलगायतका गतिविधि गर्न कडाइका साथ निषेध गर्ने र भिड हुने साँस्कृतिक गतिविधि जात्रा पर्व सञ्चालनमा रोक लगाउन सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ । यस्तै मास्क नलगाइ आवत जावत गर्न तथा मास्कलाई उपयुक्त रुपमा प्रयोग नगर्नेहरुलाई कारबाही गर्ने विषयमा समन्वय गर्ने निर्णय पनि फोरमले गरेको छ ।

व्यापारिक क्षेत्र तथा सपिङ मल, होटल, रेस्टुरेन्ट आदिमा कोरोना सङ्क्रमणको उच्च जोखिमयुक्त क्षेत्र रहेकोले उच्च सतर्कता मापदण्डलाई कडाइका साथ पालना गर्नुपर्ने र नियमित अनुगमन गरी कारबाही गर्ने मेयर फोरमले जनाएको छ ।

अनाधिकृत रुपमा उपत्यका प्रवेश गरेका निर्माण कार्यका मजदुर, ठेलागाडा, साइकल, फुटपाथ, तरकारी व्यापार गर्न आएकाहरु बढी देखिएको भन्दै तरकारी व्यापारलाई साँझ/बिहान मात्र सञ्चालन गर्न दिने र निर्माण कार्य, फुटपाथ, ठेलागाडा, साइकलमार्फत गरिने व्यापारलाई भदौ १५ गतेसम्मको लागि निषेध गर्ने निर्णय पनि बैठकले गरेको छ ।