
पहिलो
प्राय गर्भमै फालिन्छे,दाइजोको नाममा जलेकी हुन्छे
बलात्कारको शिकार बनेर कतै झाडीमा ढलेकी हुन्छे
नारीले संघर्ष गर्न गर्भ बाटै सिकेर आएकी छ महोदय
हजार पीडा सहेर नि उज्यालो दिप बनेर बलेकी हुन्छे
दोस्रो
आफ्नै मनोमानी राखेको हुन्छ मनमा सपना बोकेर
आधा रातमा बताउदै रून्छ उही जाँड रक्सी धोकेर
स्वीकार नभएसी प्रस्ताव आफ्ना पुरा नभएसी रहर
चोट लगाउन अनुहारमै छ्याप्छ एसिड बाटो रोकेर
तेस्रो
तपाई पहिलो होइन,यो शरीर हजारौंले छोका छन्
नशामा डुबेर कोही मुस्कुराउँछन् कोही रोका छन्
यसरी बेचिनु रहर हैन मेरो अरू कूनै विकल्प छैन
साहेब छिटो भोक मेटाउनु मेरा सन्तान भोका छन्
चौथो
हातमा फूल ,अक्षताको पुजा थाली लिएर
त्यो मन भने छल ,कपट अनि जाली लिएर
यसरी तिमी किन मन्दिर धाउँछौ ए।।यात्री
आमा बृद्ध आश्रम राखी गाडी खाली लिएर

आरती सुवेदी ( कपिलवस्तु )