मङ्लबार, बैशाख ११, २०८१

Ratopress

Advertisment

SKIP THIS

बेसाहाराको साहारा बन्दै राईजिङ्ग क्लब 

रातोप्रेस संवाददाता, भैरहवा ।

पढ्ने हाँस्ने, खेल्ने उमेरका बालबालिका एक छाक टार्नका लागि होटेलका भाँडा माझ्ने, गाडीमा काम गर्ने र अर्काको खेतबारीमा काम गर्न बाध्य भइरहेका बेला पछिल्लो समय स्थानीय स्तरमा सञ्चालनमा आएका संघसंस्थाले यस्ता बालबालिकाको सहारा बनेर निस्वार्थ सेवा गरिरहेकै बेला राईजिङ्ग क्लब नेपाल पनि निस्वार्थ सेवामा लागिपरेको छ ।

राईजिङ्ग क्लब जस्ता अन्य सामाजिक संस्थाहरु पनि राम्रो लगाउने, मीठो खाने अनि अभिभावकसंगै रमाउने समयमा आफ्ना अभिभावक गुमाएर साहारा बिहीन भएका बालबालिकाको साहारा बनेका छन् ।

जसको कोही हुँदैन, त्यसको भगवान हुन्छ । यो उखानलाई चरितार्थ गर्दै राईजिङ्ग क्लब नेपाल रुपन्देहीले सिद्धार्थ बालगृहका बालबालिकाहरुलाई सहयोग गरेको छ ।

साउन १५ अर्थात् खीर खाने दिनको अवसर पारेर सिद्धार्थनगर–१२ मा अवस्थित सिद्धार्थ बालगृहमा रहेका बालबालिकासंगै राईजिङ्ग क्लबले सामुहिक भोजन कार्यक्रम सम्पन्न गरेको छ । क्लबले बालगृहमा उक्त कार्यक्रमका बिच १२ थान झुल, आर्थिक सहयोग तथा मिठाईका कोसेलीहरु हस्तान्तरण गरेको क्लबका अध्यक्ष सागर न्यौपानेले जानकारी दिए ।

प्रमुख अतिथि जेसीआई सिद्धार्थ नेपाल वर्ष २०२० का अध्यक्ष मंगल भण्डारीले कार्यक्रममा बोल्दै सामाजिक क्षेत्रमा क्लबले गरेको सहयोग र योगदान महत्वपूर्ण रहेको बताए । उनले अभिभावक बिहिन बालबालिकाको पठनपाठन र जीवनयापनमा यस्ता सामाजिक संस्थाको सानो सहयोगले ठूलो योगदान पुग्ने बताउँदै यस किसिमका कार्यक्रमलाई आगामी दिनमा पनि प्राथमिकताका साथ निरन्तरता दिनुपर्ने जिकीर गरे ।

क्लबका सल्लाहकार तथा सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ का वडा सदस्य सरोज ठकुरीले विभिन्न सामाजिक संघ-संस्थाहरुको सहयोगबाट सञ्चालित बालगृहमा क्लबले गरेको सहयोग प्रशंसायोग्य रहेको बताए ।

त्यस्तै बालगृहकी संचालक कृष्णमाया गुरुङले बेलाबखतमा यस्ता सामाजिक संघ-संस्थाहरुले गरेको सहयोगले बालगृहको उचित व्यवस्थापनमा थप हौसला थपेको बताइन् । उनले अन्य स्रोत केही नभएकाले विशुद्ध सामाजिक सहयोगबाटै बालबालिकाको खानपान र पठनपाठन गराउँदै आएको जनाइन् । १९ जना बालबालिका रहेको बालगृहसँग आगामी दिनमा समेत हातेमालो गर्न उनले क्लबलाई आग्रह गरिन् ।

क्लबका उपाध्यक्ष गणेश पोखरेलको सञ्चालनमा रहेको कार्यक्रमका संयोजक मिलन पौडेल बालगृहसँग आगामी दिनमा पनि सहकार्य गरी सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।