बुधबार, बैशाख १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

आरती सुवेदी : मैले न्याय पाउँदिन आमा (कविता)

मैले न्याय पाउँदिन आमा (कविता)

आमा मलाई कोरीबाटी नगरिदेऊ
मेरा आँखाहरूमा गाजल नभरीइदेऊ
मलाई शृङ्गार गरेर चिटिक्क पर्नु छैन
मलाई कुनै पनि शृङ्गार गर्नु छैन
मलाई राम्री बन्नु छैन

यो अनुहारमा चोट र दाग लागोस्
सुन्दरता सधैँ म देखी टाढा भागोस्
आफ्नै सुन्दरताको शिकार बन्न नपरोस्
जीवन मृत्यु दोसाँधमा छ भन्न नपरोस्

सधैँ बाहिर सुन्दरताको पछि पर्छन्
त्यसैलाई माया, प्रेम भन्दै अति गर्छन्
सच्चा प्रेमको नाममा शरीर खोज्छन्
सोचे झैँ नभएपछि गलत बाटो रोज्छन्

मलाई चोट पुर्‍याउन कोमल अङ्गहरू छान्छन्
आमा उनीहरूले भनेझैँ नभए एसिड हान्छन्
सम्झिँदा नि विरक्त लाग्छ मन पोलेर आउँछ
आखीर यहाँ पुरुषले नारीलाई के ठान्छन् ?

मेरो उठेको छातीमा गिद्धे नजर डुलाउँछन्
यौवनले मातेको मन त्यहिँ कल्पिएर भुलाउँछन्
उसको त्यो यौवन प्यास मेटाउने सुर छ
एक्लै हुने मौका हेर्दै सधैँ बाटो कुर्छ

नजिक सर्छ कोमल शरीर सुम्सुम्याउँछ
ति हात कमाउँछ होस् सबै गुमाउँछ
उसले आफ्नो मनपरि यत्रतत्र समाएर
मलाई जिउँदो लास बनाउँदै रमाएर

आफ्ना दिदीबहिनी बिर्सिन्छ निर्वस्त्र पार्छ
दुई खुट्टा बीचको अङ्गमा नजर गाड्छ
न आँसु देख्छ न चिच्चाहट सुन्छ ऊ
यौन प्यास मेटाउन निर्दयी राक्षस हुन्छ ऊ

आफ्नो मनपरि धित मरी रहर पूरा गर्छ
अनि बिस्तारै ऊ… मेरै गलातर्फ सर्छ
जबर्जस्ती लुटेर अस्मिता छाती फुलाउँछ
अझै केही बाँकी रहेझैँ गरी नजर डुलाउँछ

जिउँदै छोडे आफू कानुनमा फस्छु भन्ने डरले
उसले अठाउँछ मेरो घाँटी निर्दोष बन्ने रहरले
उसको प्यास र प्रेम त्यही सकिएको थियो
अन्त्यमा उपहार उसले मलाई मृत्यु दियो ।

ऊ प्रतिष्ठित पैसा र पहुँचवालाको छोरो
बनाउन सक्छ कानुन अदालत एकोहोरो
म लुछिँदै चुँडिदै मारीएकी भए पनि
बलात्कार र हत्यामा पारिएकी भए पनि
तर मैले कहिल्यै न्याय पाउँदिन आमा ….
तिमी वकिल, अदालत जहाँ गए पनि

मलाई बाँच्न देऊ भन्दाभन्दै मारियो
केही बचेका प्रमाण ओझेलमा पारियो
न्यायालयमा अपराधी जोगाउने खेल छ
बुझ्दैनन् कोही तिम्रा आखामा आँसु भेल छ

तिमीले जति कोसिस गरे पनि
आखिर हुँदैन केही
पैसा बोल्ने न्यायालयमा एक्लै हुन्छौ
बा..आमा..अब बिर्सिदेऊ मलाई
सम्झी सम्झी अझै कति रून्छौ ?

आरती सुवेदी ( कपिलवस्तु )