बुधबार, साउन २८, २०७७

साउनको दोस्रो सोमबार पनि दर्शनार्थीका लागि खुलेन पशुपति

काठमाण्डौ – साउनको दोस्रो सोमबार आज पनि पशुपतिनाथको मूल मन्दिर भक्तजनका लागि खुलेको छैन ।

कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन गएको चैत ११ गतेदेखि लकडाउन भएपछि मन्दिर, शैक्षिक संस्थालगायत धेरै भीड हुने क्षेत्र अहिलेसम्म खुलेका छैनन् ।

लकडाउन हटेपछि अरु क्षेत्र खुला भए पनि मन्दिर, शैक्षिक संस्थालगायत नखोल्ने सरकारको नीतिअनुसार पशुपतिनाथ मन्दिर भक्तजनका लागि नखोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर प्रदीप ढकालले जानकारी दिनुभयो । साउनको पहिलो सोमबार ५ गते पनि भक्तजनले पशुपति क्षेत्र बाहिर विभिन्न शिवालयमा पूजा आराधना गरेका थिए ।

यसैबीच साउन महिनाको सोमबार देवघाटमा लाग्ने बोलबम मेला यसपाली लागेको छैन । भिडभाड हुँदा कोरोनाको सङ्क्रमण बढ्नसक्ने भएकाले साउन महिनाभरि मेला स्थगित गरिएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । देवघाट चितवन, तनहुँ र नवलपरासी जिल्लाको सिमानामा पर्छ ।