शुक्रबार, साउन २३, २०७७

सिनेमा घर खाेल्ने विषयमा छलफल गर्न सरकार तयार छ : डा. खतिवडा

काठमाण्डौ : अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर सिनेमा घर खाेल्ने विषयमा छलफल गर्न सरकार तयार रहेको बताउनुभएको छ ।

चलचित्र विकास बाेर्डले काठमाण्डाैमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले सिनेमा घरहरुले स्वास्थ्य मापदण्ड अपनाएर भौतिक दुरी कायम गरी चलाउन सक्ने भए छलफल गरेर अगाडि बढ्न सकिने बताउनुभएको हो ।

उहाँले सिनेमा घर सञ्चालन गर्ने सम्बन्धमा चलचित्र विकास बोर्डले मापदण्ड तयार गरिसकेको र त्यसमा छलफल गरेर छिट्टै टुङ्गोमा पुग्ने बताउनुभयो । चलचित्र क्षेत्रलाई खुलाएर थप गतिविधि अगाडि बढाउन सके चलचित्रकर्मी र लगानीकर्ता सबैलाई उत्साहको वातावरण बन्न सक्ने उहाँको भनाइ छ ।

लकडाउनका कारण चलचित्र क्षेत्र अति प्रभावित भएकाले यसबाट परेको असर कम गर्न मौद्रिक नीतिले सम्बोधन गरेको मन्त्री खतिवडाले बताउनुभयो । उहाँले चलचित्रमा भएको लगानीलाई ह्रास हुन नदिन र पुँजी क्षय हुन नदिन नीतिगत रुपमा मिलाउने कामहरु भइसकेको जानकारीसमेत दिनुभयो ।