बुधबार, साउन २८, २०७७

वैकल्पिक प्रणालीबाट विद्यार्थीहरुको सिकाई सहजीकरण गर्न बुद्धभूमिले गर्‍यो अन्तरकृया तथा अभिमुखीकरण (फोटो फिचर सहित)

गणेश बेल्बासे संगम, कपिलवस्तु ।

कोरोना भाईरस (कोभिड-१९) को संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउन लम्बिदै जाँदा विद्यार्थीको पढाईमा असर परेको भन्दै वैकल्पिक प्रणालीबाट विद्यार्थीहरुको सिकाई सहजीकरण गर्न बुद्धभूमि नगरपालिकाले माध्यमिक विद्यालय ईमिलियामा अन्तरकृया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

बुद्धभूमि नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा कपिलवस्तुको आयोजनामा एवं किर्डाक नेपालको सहकार्यमा वैकल्पिक प्रणाली मार्फत सिकाई सहजीकरण सम्बन्धी विद्यालयका प्रअहरुको अन्तरकृया तथा अभिमुखीकरण कार्यक्रम संचालन गरिएको हो ।

शाखाले बालबालिकाको टोल-टोलमा सिकाइ समूह निर्माण गरी शिक्षकबाट सिकाइलाई निरन्तरता दिने भएको छ । शिक्षा शाखाका प्रमुख लिल बहादुर क्षेत्रीको अध्यक्षतामा हिजो शनिबार आयोजित अन्तरकृया तथा अभिमुखीकरणमा बुद्धभूमि नगरपालिका स्थित वडा नं. ७, ८ र ९ का प्रअ तथा शिक्षकहरुको उपस्थिती रहेको थियो । त्यस्तै शिक्षा अधिकृत कृष्ण प्रसाद भट्टराई, स्रोत व्यक्ति खेमराज पौडेल, प्रा. स. माधव पौडेल समेतको उपस्थिति रहेको थियो ।

बैठकले एफएम रेडियो, टिभि र इन्टर्नेट लगायतका माध्यमबाट पनि सिकाइलाई निरन्तरता दिने निर्णय गरेको छ । पहुँचका आधारमा बालबालिकालाई अनलाइन लगायतका डिजिटल माध्यमबाट पनि सिकाइलाइ निरन्तरता दिने निर्णय गरिएको शिक्षा शाखा प्रमुख लिल बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

बैठकले वैकल्पिक सिकाई सहजिकरण सम्बन्धी मार्गदर्शन अनुसार कार्यक्रम सुरुवात गर्ने र कार्ययोजना र कार्यतालिका ३ दिन भित्र लिडर स्कुल मार्फत नगरपालिकाको शिक्षा शाखामा पेश गर्ने निर्णय गरेको छ ।

यस अघि नै विद्यालयका कक्षागत नतिजा बालबालिकासम्म पुर्याउने, तल्लो कक्षा पठनपाठन पूरा गरेका विद्यार्थीलाई माथिल्लो तहमा अभिलेखीकरण गर्ने र सबैका हात–हातमा नयाँ पाठ्यपुस्तक पुर्याउने काम सम्पन्न भईसकेको जनाइएको छ ।

बैठकले विभिन्न समुदायमा रहेका बालबालिकाको अवस्था, पहुँच र आवश्यकता अनुसार विद्यालयहरुले सिकाइलाई निरन्तरता दिन गर्न सकिने सम्भावित कार्यहरुको खोजी गर्ने निर्णय गरेको हो ।

कोभिड–१९ को महामारीले ल्याएको लकडाउनको अवस्थामा शिक्षकहरुले अहिलेसम्म गरिएका प्रयासहरु र विभिन्न विद्यालयहरुले गरेका राम्रा अभ्यासहरुको सम्बन्धमा अनुभव आदानप्रदान र समीक्षा पनि बैठकमा गरेका थिए ।