बुधबार, साउन २८, २०७७

शितगंगा १२ ले आर्थिक वर्ष ०७६/७७ मा संचालन गरेका जनमुखी कार्यक्रम

रातोप्रेस संवाददाता, शितगंगा ।

अर्घाखाँची : पछिल्लो समय स्थानिय तहका जनप्रतिनिधीलाई जनमूखी कार्य गर्न नसकेको आरोप प्रत्यारोप सामाजिक संजालहरूमा हेर्न र देख्न पाईन्छ ।

नेपाली जनताले विश्वास गरेर दिएको जिम्मेवारी पुरा गर्न र आफ्नो कार्यक्षेत्र थप बलियो बनाउन जनप्रतिनिधिहरु ईमान्दार हुनुपर्ने देखिन्छ ।

पछिल्लो समय अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. १२ का जनप्रतिनिधीले जनताको चाहना अनुुरुपको विकास नै आफ्नो मुलमन्त्र ठान्दै जनमुखी कार्यक्रममा जोड दिएका छन ।

सामाजिक दुरी कायम गर्दै एक कार्यक्रमको आयोजना गरी शितगंगा नगरपालिका १२ ले वडाका कृषकलाई उत्पादनका आधारमा अनुदान वितरण गरेको छ । वडामा रहेका कृषकहरुले बर्ष भरिमा उत्पादन गरि बिक्री गरेको दुधको आधारमा प्रतिलिटर रु. २ का दरले अनुदान वितरण गरिएको वडा अध्यक्ष बाबुराम गैरेले जानकारी दिनु भयो । कृषकले उत्पादन गरेको दुध सहकारी मार्फत गाँउ बाट नै खरिद सुरु गरेपछि गाई तथा भैंसी पाल्ने कृषक समेत बढेका छन । वडामा रहेका २५ जना कृषकले दुधमा अनुदान पाएका छन ।

वडाबाट प्राप्त अनुदानले आफुहरुलाई हौसला तथा उत्साह प्रदान गरेको भन्दै उनिहरुले वडा अध्यक्ष बाबुराम गैरेको यस कदमको प्रशंसा गरेका छन ।

सोही कार्यक्रमको अवसरमा वडा भित्र रहेका ९ जना स्वास्थ स्वयमसेवीकालाई दराज, छाता तथा झोला वितरण गरेको छ । वडा का विभिन्न कार्यक्रम तथा गतिविधीमा निस्वार्थ रुपमा खटने स्वास्थ्य स्वयमसेवीकाको लागि वडाले सामाग्री बितरण गरेको हो । स्वास्थ सेवाको लागि अहोरात्र खटने स्वयमसेवीकाहरु लाई प्रोत्साहन गर्न सामाग्री वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।

यस्तै वडामा २५ वटा गोठ सुधारका कार्यक्रम सम्पन्न भएको छ। सोही कार्यक्रममा युवा कल्वलाई समेत खेल सामाग्री वितरण गरिएको छ । त्यस्तै शिक्षा क्षेत्रमा सुधार गर्न वडाका ८ वटा विद्यालयहरुलाई कम्प्युटर, प्रिन्टर, स्टील दराज, ई-हाजिर मेसिन, पानी फिल्टर, ३० थान स्टील टिफिन लगायतका सामाग्री वितरण गरिएको वडा अध्यक्ष गैरेले जानकारी दिनु भयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवं शितगंगा नगरपालिकाका नगर प्रमुख सूर्य प्रसाद अधिकारीले जनप्रतिनिधीको काँधमा दोहोरो जिम्मेवारी आएको बोध गराउँदै नगरले जनताको तड्कारो आवश्यकता र माग अनुसारका कार्यक्रमहरुमा जोड दिएको बताउनु भएको छ ।

शितगंगा नगरपालिकाको विकास र जनताको समृद्धीको लागि अगामी दिनहरुमा महत्वपूर्ण विकासका योजनाहरु अगाडी सारेको बताउँदै नगर प्रमुख अधिकारीले आफूले पाएको जिम्मेवारीलाई इमान्दारी साथ निर्वाह गरी जनताको सेवामा लाग्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।