शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

सलहले पाँच जिल्लाको ११ सय १८ हेक्टरमा क्षति

काठमाडौँ — अफ्रिकी मुलुकबाट अरेबियन देश हुँदै भारतबाट नेपाल भित्रिएको सलहले यहाँका पाँच जिल्ला (दाङ, प्यूठान, मकवानपुर, अर्घाखाँची र पाल्पा) मा बढी क्षति पुर्‍याएको छ । सलहले मकै, तरकारी, फलफूल र भटमास गरी ती जिल्लामा मात्रै करिब ११ सय १८ हेक्टरमा क्षति पुर्‍याएको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।

केन्द्रले जिल्लास्थित कृषि ज्ञान केन्द्र र स्थानीय तहको समन्वयमा अन्य जिल्लाको क्षतिको विवरण संकलन गरिरहेको बताएको छ । केही जिल्लामा सलह बसे पनि क्षति सामान्य नै छ । ‘यो प्रारम्भिक अनुमान हो । खेतमै गएर हेर्दा प्रतिशतमा सामान्य भिन्नता आए पनि क्षेत्रमा फरक आउँदैन,’ केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले भने, ‘सलहहरू छरिएर बसेकाले खासै क्षति भएको छैन ।’ केन्द्रका अनुसार सबैभन्दा बढी दाङमा क्षति पुर्‍याएको छ । दाङमा मकै तथा तरकारी बाली गरेर ५ सय ८० हेक्टरमा क्षति पुर्‍याएको छ । दोस्रोमा प्यूठानमा क्षति पुगेको केन्द्रले तयार पारेको विवरणमा उल्लेख छ ।

केन्द्रका अनुसार अर्घाखाँचीमा मकै तथा तरकारी गरेर एक सय हेक्टरमा क्षति पुर्‍याएको उनले बताए । पाल्पामा पनि मकै र तरकारी बालीमा ५० हेक्टर क्षति भएको छ । रोल्पामा मकैमा सामान्य क्षति भएको छ । कीराहरू अझै सक्रिय भएकाले थप विवरण संकलन भइरहेको उनले जनाए । ‘रोल्पा, रुकुम र प्यूठानमा खासै क्षति नदेखिए पनि विवरण आउन बाँकी छ,’ उनले भने । केन्द्रका अनुसार शुक्रबारदेखि हावा पूर्वबाट पश्चिमतर्फ बगेको छ । उक्त दिशामा हावा बगे दुई–चार दिन सलह नेपाल नआउने केन्द्रका सुवेदीले बताए । ‘आज पूर्वदेखि पश्चिम गएको छ । त्यही भएर दुई–चार दिन सलह आउँदैन । अब त्यति समस्या छैन,’ उनले भने ।

केन्द्रका अनुसार साना तथा ठूला समूह गरी ५२ जिल्लामा सलह देखिएको छ ।

‘सलहको गणना विधि अनुमानमा आधारित हुन्छ,’ उनले भने, ‘खासगरी एक किलोमिटर स्क्वायरको बथानमा एक करोड कीरा हुन्छन् । झुन्डको लम्बाइ/चौडाइका आधारमा संख्या अनुमान गर्ने हो । ठ्याक्कै यति नै हुन्छ भन्ने पनि हुँदैन ।’

साभार  इकान्तिपुरडटकमबाट