अरुण आचार्य, कपिलवस्तु।
व्यावसायिक फोटोग्राफीको उत्थान, हक, हित, र संरक्षणमा समर्पित संस्था कपिलवस्तु फोटोग्राफर संघको १२ औं वार्षिक साधारण सभा संघका अध्यक्ष रामचन्द्र बेल्वासेको अध्यक्षतामा बुध्दभूमि नगरपालिका वडा नं. २, गोरुसिंगेस्थित होटल संगम प्यालेसको सभाहलमा अत्यन्तै गौरवशाली र भव्य रूपमा सम्पन्न भएको छ।
बुद्धभूमि नगरपालिकाका नगर प्रवक्ता तेज बहादुर बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा संघका विभिन्न गतिविधि, गौरवमय उपलब्धि, र भविष्यका दिव्य योजनाहरू ससम्मान प्रस्तुत गरिएका थिए। यस अवसरमा संघका सदस्यहरूको निरन्तर लगनशीलता, परिश्रम, र योगदानलाई कदर गर्दै विभिन्न क्षेत्रगत संयोजकहरू, सल्लाहकारहरू, र महिला उपसमिति सदस्यहरूलाई सम्मान पत्र प्रदान गरिएको थियो। सचिव कर्णबहादुर तिवारीले संघको प्रगति प्रतिवेदन मार्फत आर्थिक चुनौतीहरूका बाबजुद संघले हासिल गरेका उपलब्धिहरूलाई सुन्दर प्रस्तुतिमा विस्तार गर्नुभएको थियो।
उक्त कार्यक्रममा बुद्धभूमि उद्योग वाणिज्य संघका अध्यक्ष शुभलाल भुसाल विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। उहाँले संघले स्थानीय व्यवसायिक फोटोग्राफीको प्रवर्द्धनमा खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै संघको व्यावसायिक उन्नति र सामाजिक योगदानको प्रशंसा गर्नुभयो। साथै, संघका निवर्तमान अध्यक्ष तथा संस्थापक उपाध्यक्ष इन्द्रमणि बेल्वासेले पनि आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्दै संघको प्रारम्भिक यात्रा र भविष्यको मार्गचित्रबारे धारणा राख्नुभयो।
कार्यक्रममा अन्य विशिष्ट अतिथिहरूमा बुद्धभूमि उद्योग वाणिज्य संघका उपाध्यक्ष हरि शर्मा, होटेल तथा रेस्टुरेन्ट व्यवसायी संघका सचिव ध्रुव भुसाल, र रातो प्रेस डट कमका सम्पादक अरुण आचार्यको पनि उपस्थिति रहेको थियो।
कार्यक्रमको विशेष आकर्षण संघका प्रेस संयोजक भक्तिराम घिमिरेको सांगीतिक प्रस्तुति रहेको थियो। उहाँले आफ्ना सुरीला स्वरले समारोहलाई झनै सजीव बनाउनुका साथै उपस्थित अतिथिहरूलाई नृत्यमा समेत प्रेरित गर्नुभएको थियो, जसले कार्यक्रमलाई एक छुट्टै नै आयाम प्रदान गर्यो।
समारोहमा स्वागत मन्तव्य सङ्घका उपाध्यक्ष प्रकाश चौधरीले दिनुभएको थियो, जसले समारोहको गरिमा र उद्देश्यलाई स्पष्ट रूपमा सम्बोधन गर्यो। कार्यक्रमको सञ्चालन संघका सचिव कर्णबहादुर तिवारीले अत्यन्तै व्यवस्थित र मर्यादित तरिकाले गर्नुभएको थियो, जसले समग्र कार्यक्रमलाई थप आकर्षक र समृद्ध बनायो।