बिहिबार, जेष्ठ २, २०८२

नवप्रभात सामुदायिक वन उपभोक्ता समूहको १४औं वार्षिक साधारण सभा सम्पन्न

अरुण आचार्य,कपिलवस्तु।

वाणगंगा – नवप्रभात सामुदायिक वन उपभोक्ता समूहको १४औं वार्षिक साधारण सभा शनिबार धुमधामसँग सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता सामुदायिक वन समितिका अध्यक्ष डिल्लिराज रेग्मीले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा वाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालको उपस्थिति थियो।

सभामा प्रमुख अतिथी अर्यालले वन संरक्षणमा सामुदायिक वनको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै वनको सही व्यवस्थापन र संरक्षणका लागि सबै उपभोक्ताहरूको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिनुभयो। उहाँले नगरपालिकाले वनको संरक्षण र विकासमा निरन्तर सहयोग पुर्याउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

कार्यक्रममा विशिष्ट अतिथिको रूपमा डिभिजन वन कार्यालय कपिलवस्तुका वरिष्ठ वन अधिकृत शिव नन्द शाहले वनको दीर्घकालीन संरक्षण र व्यवस्थापनका लागि जनताको सहभागिता अपरिहार्य भएको बताउँदै यस क्षेत्रमा वनले पुर्याएको योगदानको प्रशंसा गर्नुभयो।

सभामा कोषाध्यक्ष लक्ष्मी भुसालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो भने सचिव सिता भुषाल (पाण्डे) ले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रम सञ्चालनको जिम्मेवारी पनि सचिव भुषालले नै निर्वाह गर्नुभएको थियो।

यस वार्षिक साधारण सभामा विभिन्न जनमुखी कार्यक्रमहरू आयोजना गरियो, जसअन्तर्गत स्थानीय स्वास्थ्य संस्थालाई आवश्यक सामग्री वितरण , जेष्ठ नागरिकहरूलाई सम्मान, र खेलकुद सामग्री पनि वितरण गरिएको थियो। यसले समुदायको विभिन्न पक्षलाई लाभ पुर्याएको भन्दै सहभागीहरूले प्रशंसा व्यक्त गरेका थिए।

सभामा वडाध्यक्ष, समाजसेवी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीय वन उपभोक्ताहरूको व्यापक उपस्थिति रहेको थियो।

कार्यक्रमको अन्त्यमा अध्यक्ष डील्लीराज रेग्मीले सभामा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो।