मङ्लबार, जेष्ठ ७, २०८२

बाढीले प्रभावित राजमार्ग तथा सडक तत्काल सञ्चालन गर्न माग

काठमाडौँ : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बाढीबाट प्रभावित राजमार्ग तथा सडक तत्काल सञ्चालन गर्न सरकारसँग माग गरेको छ।

महासंघका महासचिव डेकनाथ गौतमले आज विज्ञप्ति जारी गरी अविरल वर्षाका कारण गएको बाढीपहिरोबाट राष्ट्रिय राजमार्ग, सहायक राजमार्ग र ग्रामीण सडकमा क्षति पुगेकाले तत्काल मर्मत तथा वैकल्पिक व्यवस्था गरी सडक खुलाउन सरकारसँग माग गरेका हुन्।

“अविरल वर्षाका कारण बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएको छ, कैयौँ राष्ट्रिय राजमार्ग तथा ग्रामीण सडक बन्द भएका छन्, जसकारण यात्रु बिचल्लीमा परेका छन्। मर्मत तथा डाइभर्सन बनाएर सडक सञ्चालन गर्ने वातावरण बनाउनुपर्छ”, महासचिव गौतमले भने।

महासंघले देशभरिका जुनसुकै स्थानबाट सेवा सञ्चालन गर्दा आफ्नो गन्तव्यसम्म पुग्ने बाटोको अवस्थाबारे पूर्ण जानकारी लिएर मात्र यात्रा गर्न र सवारीसाधन सञ्चालनका लागि अपिल गरेको छ।

बन्द भएका सडक खुलाउने कार्यमा सुरक्षाकर्मी परिचालन भइसकेकाले सुरक्षाकर्मीसँग सहकार्य गरेर यातायात सञ्चालन गर्नसमेत सबै व्यवसायीलाई महासंघले अनुरोध गरेको छ।