आइतवार, असार १, २०८२

गोरुसिङेमा परीक्षा हलमै मोबाइल प्रयोग गर्ने विद्यार्थी निष्कासित

exam

कपिलवस्तु — कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिका–२ स्थित गोरुसिङेमा सञ्चालन भइरहेको कक्षा १२ को परीक्षा केन्द्रबाट एक परीक्षार्थी निष्कासित भएका छन्।

अकाउन्ट (लेखा) विषयको परीक्षा दिइरहेका सोसियल आवासीय माध्यमिक विद्यालयका एक छात्रलाई गौतम बुद्ध माध्यमिक विद्यालयमा रहेको परीक्षा हलमै मोबाइल फोन प्रयोग गरी प्रश्नपत्रको फोटो खिचिरहेको अवस्थामा फेला पारिएको हो।

परीक्षा केन्द्रमा खटिएको केन्द्राध्यक्ष, निरीक्षक तथा सुरक्षाकर्मीको टोलीले संयुक्त रूपमा छानबिन गर्दा ती छात्रले परीक्षाको गोपनीयता उल्लङ्घन गर्ने कार्य गरेको पुष्टि भएपछि उनलाई तत्काल परीक्षा हलबाट निष्कासन गरिएको हो।

केन्द्राध्यक्षका अनुसार यस्ता क्रियाकलापले परीक्षाको मर्यादा र निष्पक्षतामा आघात पु¥याउने भएकाले शून्य सहनशीलताको नीति अनुरूप कारबाही गरिएको जनाइएको छ।

यस घटनापछि परीक्षा केन्द्रमा निगरानी र सुरक्षाका उपायहरू थप कडाइका साथ कार्यान्वयन गरिएको छ। परीक्षा नियन्त्रण कार्यालयले परीक्षामा अनियमितता ल्याउने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट चेतावनी दिँदै आएको छ।

घटना सार्वजनिक भएपछि परीक्षा केन्द्र रहेको गौतम बुद्ध माध्यमिक विद्यालयले औपचारिक सूचना प्रकाशित गर्दै उक्त विद्यार्थीलाई निष्कासन गरिएको जानकारी गराउँदै, सबै परीक्षार्थीलाई परीक्षा नियमको पूर्ण पालना गर्न अनुरोध गरेको छ।No description available.