मङ्लबार, साउन ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

खारघाट-नयाँबस्ती सिंचाइ योजनाको बाँध निर्माण कार्य सम्पन्न

रातो प्रेस सम्बाददाता/ अर्घाखाँची ।

जिल्लाको शितगंगा नगरपालिका–९ मा खारघाट-नयाँबस्ती सिँचाइ बाँध निर्माण कार्य सम्पन्न भएको छ । गत वर्षदेखि निर्माण कार्य सुरू भएको उक्त सिंचाई योजनाको बाँध निर्माण कार्य सम्पन्न भएको हो ।

लुम्बिनी प्रदेशबाट परेको सोही योजनाको नहरको कार्य गर्न बाँकी रहेको छ । राप्ती नदिसंग जोडिने रङसिङ खोलाको पानी खेर गईरहेको र निजिकै नदि किनारमा रहेका बस्तीका जमिन सुख्खा रहेका थिए ।

लुम्बिनी प्रदेश सरकारको २ करोड ५० लाखको लागतमा सो बाँधको निर्माण सम्पन्न भएको शितगंगा नगरपालिका वडा नं. ९ का वडाध्यक्ष भिम केसीले बताए । बाँध निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि सयौं विघाहा क्षेत्रफलमा फैलिएको जमिनमा सिँचाइ हुने र त्यसबाट ९० घर परिवार भन्दा बढी प्रत्यक्ष लाभान्वित हुने केसीले जानकारी दिए ।

स्थानीय उपभोक्ता टेक बहादुर खत्रीले पानी पाएपछि केरा खेतीसंगै धान, गहुँ, मकै, तरकारी लगाएतका अन्नबाली धेरै फल्ने बताउँदै वर्षमा तीनबाली खेती गरी स्थानीयवासीको आयआर्जनमा वृद्धि हुने विश्वास व्यक्त गरे ।

केरा खेती पकेट क्षेत्रका रूपमा रहेको उक्त क्षेत्रमा सिँचाइ बाँध निर्माणसँगै अन्य खेतिका लागि पनि उपयुक्त हुने वडाध्यक्ष केसीले बताए । उनका अनुसार सो क्षेत्रका स्थानीय कृषकले व्यावसायिक रूपमा तरकारी खेती पनि गर्ने बताए ।

वडा अध्यक्ष केसीले २०७४ सालको स्थानिय तहको चुनावमा निर्वाचित भएदेखि नै सिचाईका लागि पहल गर्दै आएका थिए । उनको पटक पटकको प्रयासपछि तत्कालीन भाैतिक मन्त्री बैजनाथ चाैधरीकाे कार्यकालमा प्रदेश सांसद रामजि घिमिरे मार्फत उक्त योजना पर्न सफल भएको थियो ।